दक्षिण पर्वतका भूकम्पपीडितले पाल पनि पाएनन्

इनेप्लिज २०७२ वैशाख २२ गते ३:५४ मा प्रकाशित

indexफलेवास (पर्वत), २२ वैशाख । विनाशकारी भूकम्पका कारण भौतिक क्षति पुगेको पर्वतको दक्षिणी क्षेत्रका बासिन्दाले १० दिनसम्म पनि पालसमेत पाउन सकेका छैनन् ।

भूकम्पका कारण विस्थापित बनेका पर्वतको उराम, बेउलीबासलगायत दुर्गम गाउँका बासिन्दाले पालसमेत पाउन नसकेका हुन् । भूकम्पपीडितका लागि पठाइएको पाल अपुग भएका कारण दुर्गम क्षेत्रका पीडितले पाउन नसकेको बताइएको छ । बेउलीबास र उराम गाविसमा भूकम्पका कारण ठूलो क्षति भए पनि अहिलेसम्म राहत सामग्री पुग्न नसकेको उनीहरुको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार उरामपोखरा गाविसमा ५० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । तर बेउलीबास गाविसका सचिव पुण्यप्रसाद काफ्लेले बेउलीबासमा मात्रै १६४ घर बस्नै नहुने गरी भत्किएका छन् । ती घरका लागि पाल चाहिने भए पनि अहिलेसम्म २५ वटा जति मात्रै पाल गाउँ पुगेको बताउनुभयो ।

बेउलीबास गाविसमा भूकम्पका कारण सबैभन्दा बढी वडा नं ८, ३, १ को गहथोकमा असर परेको छ । बगालेको दलित बस्तीका अधिकांश घर बस्नै नहुने गरी भत्केका छन् । घर भत्केपछि पालसमेत नपाउँदा रात बिताउन कठिन बन्दै गएको भीमबहादुर विकले बताउनुभयो । “सबैतिर राहत आयो भन्ने सुनेका छौँ”–उहाँले भन्नुभयो–“हामीले टाउको ओत्ने पाल पनि पाएका छैनौं ।”

उरामपोखरा गाविसमा ९० घर पूर्णरुपमा क्षतिग्रस्त भएको गाविसका प्राविधिक सहायक कृष्णप्रसाद भुसालले बताउनुभयो । भूकम्पका कारण पीडितको भोक, तिर्खा, निद्रा सबै हराएको छ । रानीपानीका ५५४ घरधुरीमध्ये ८० घर पूर्णरुपमा ध्वस्त भएका छन् । १९८ घर गारा चिरिएका, भत्किएका र पूर्णरुपमा भत्कने अवस्थामा छन् । पूर्ण र आंशिक क्षति भएका घरपरिवार पालमुनि बसेका छन् ।

वृद्धवृद्धा, बिरामी सुत्केरी, बालबच्चा र अपाङ्ग खुला आकाशमुनि घामपानीमा बस्नु परेको गुनासो गर्छन् । “रानीपानीमा सबैभन्दा बढी क्षति पुगेको छ तर राज्यबाट पाएको राहत र पाल हात्तीको मुखमा जिरा भएको छ”–स्थानीय सामाजिक अगुवा गुप्तबहादुर विकले भन्नुभयो–“दुर्गमका पीडितको पीडामा मलहम लगाउने काम पनि भएन ।”

पर्वतमा जिविस, कुस्मा नगरपालिका, प्लान नेपाल, गुडनेवर्स, सुआहारा, रेडक्रस, सभासद्हरुलगायतको सहयोगमा एक हजारभन्दा बढी त्रिपाल वितरण भइसकेका छन् । थप ५०० त्रिपाल मङ्गलबार जिल्लामा भित्रिने प्र्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । पीडितलाई राहत वितरणका लागि एक करोड रुपैयाँ निकासा भएकाले वितरण सुरु गरिएको छ । राहत रकम र पाल सबै ठाउँमा पुर्‍याउने अभियान चलिरहेको छ, कतै छुटेका भए तुरुन्तै पठाउने व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया