बाबियाचौर (म्याग्दी), २२ वैशाख । म्याग्दीको बरङ्जामा रहेको जनप्रिय निमाविको भूकम्पका कारण भत्किएको भवन मर्मत गर्न अनेरास्ववियु म्याग्दीले सोमबार श्रमदान गरेका छन् ।
विनाशकारीे भूकम्पपछि भत्किएको तीनकोठे भवन मर्मतका लागि अनेरास्ववियु म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा रहेको १९ विद्यार्थीले श्रमदान गरेका हुन् । उनीहरुले दिनभर विद्यालयदेखि एक घन्टा टाढाबाट फर्निचर र काठ बोकेर श्रमदान गरेका हुन् ।
भवनमा क्षति पुगेपछि विद्यालयको पठनपाठन प्रभावित बन्न नदिन विद्यालय सेवा क्षेत्रका अभिभावक पनि श्रमदान गरेर कक्षाकोठा मर्मतमा जुटेका छन् ।
अनेरास्ववियुले भूकम्पबाट क्षति पुगेको जिल्लाका सबै विद्यालय भवन मर्मत र पुनः निर्माणका लागि निर्माण सामग्री तथा श्रमदान सहयोग गर्ने अध्यक्ष पौडेलले बताउनुभयो । भूकम्पबाट म्याग्दीका २२ विद्यालय भवनमा क्षति पुगेको छ ।
यसैगरी विपन्न र अशक्तको भत्किएको घर मर्मत तथा पुनः निर्माणका लागि पनि श्रमदान गर्न विद्यार्थी परिचालन गर्ने उहाँले बताउनुभयो ।
भूकम्पपीडितका लागि रु बाह्र लाख राहत सङ्कलन
विनाशकारी भूकम्पपीडितको सहयोगका लागि म्याग्दीमा रु १२ लाखभन्दा बढी राहत सङ्कलन भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्न राजनीतिक दल, रेडक्रस सोसाइटी, सामाजिक सङ्घसंस्था र व्यक्तिबाट प्राप्त सहयोग समितिको खातामा जम्मा गरिएको हो । भूकम्पपीडितका लागि हालसम्म म्याग्दीमा १२ लाख १७ हजार ९५३ रुपैयाँ राहत सहयोग जुटाइएको सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा सङ्कलित र प्रधानमन्त्री राहत कोषबाट प्राप्त रु पाँच लाख भूकम्पबाट अति प्रभावित १७ गाविसका भूकम्पपीडितलाई वितरण गर्न सुरु भएको छ । घर पूर्ण रुपमा क्षति भएकालाई १० हजारसहित एक सेट राहत सामग्री र आंशिक क्षति भएकालाई पाँच हजार रुपैयाँका दरले गाविस कार्यालयमार्फत गाउँमै राहत उपलब्ध गराउन थालिएको छ ।
समितिको कोषमा बजेट थप गरेर अर्को चरणमा बाँकी गाविसका भूकम्पपीडितलाई राहत वितरण गरिने भएको छ । भूकम्पका कारण म्याग्दीमा ९७ घर भत्किएका छन् । ४९० आंशिक र ७४१ घरमा सामान्य क्षति भएको छ ।
प्रतिक्रिया