रत्ननगर (चितवन), २२ वैशाख । भूकम्पपीडितको सहयोगका लागि त्रिपालको माग अत्यधिक भएपछि चितवनमा त्रिपालको अभाव भएको छ ।
चितवनको नारायणगढमा रहेका आधा दर्जन त्रिपाल उद्योगले त्रिपाल बनाउन नभ्याएकाले अहिले भारतबाट समेत मगाउनुपर्ने बाध्यता भएको श्रेष्ठ प्लास्टिक उद्योगका सञ्चालक केदार श्रेष्ठले बताउनुभयो ।
माग अत्यधिक आइरहेको छ, हामीले माग धान्नै सकेनौं, त्यसैले मागको ५० प्रतिशत मात्रै त्रिपाल उपलब्ध गराउने गरिएको श्रेष्ठको भनाइ छ ।
उहाँले भूकम्पपीडितका लागि भनेर त्रिपाल सहुलियतमा दिएको जानकारी दिनुभयो । आफूले मात्रै चार हजारभन्दा बढी त्रिपाल बिक्री गरिसकेको भन्दै उहाँले अहिले रक्सौलबाट ठूलो परिमाणमा त्रिपाल मगाएको बताउनुभयो । उहाँका अनुसार अझै माग गर्ने धेरै भएकाले पुर्याउन मुस्किल भएको छ ।
चितवनका स्थानीय व्यवसायी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले अहिले नारायणगढबाट त्रिपाल किनेर गोर्खा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा पठाइरहेका छन् ।
दैनिक सयौँ त्रिपालको माग भएपछि राहत सहयोग दिन निस्किएका दाताले लाइनमा बसेर त्रिपाल खरिद गर्नुपर्ने बाध्यता भएको विभिन्न जिल्लामा राहत सहयोग गरिरहेको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । चाहिएको जति त्रिपाल पाउन नसकिएको उहाँको भनाइ छ ।
चितवनमा अहिलेसम्म कति त्रिपाल गयो भनेर यकिन तथ्याङ्क नभए पनि अनुमानित १० देखि १५ हजार त्रिपाल जिल्लाबाट बाहिर गइसकेको छ । चितवनको जिल्ला विपद् व्यवस्थापन समितिले मात्रै जिल्लामा एक हजार ७०० त्रिपाल बाँडिसकेको समितिका स्रोतव्यक्ति बलराम लुइँटेलले बताउनुभयो ।
अन्य जिल्लामा त्रिपाल लैजाने क्रम आज पनि जारी छ । त्रिपाल आउँछ केही मिनेटमै सकिन्छ, त्यसैले पहिले नै बुक गर्न नसकिने व्यवसायी केदार श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया