विद्यालय खोले पनि ढुक्कसँग पढाउन सक्दैनन् शिक्षक

इनेप्लिज २०७२ वैशाख २२ गते ३:३१ मा प्रकाशित

नवलपरासी, २२ वैशाख । विनाशकारी भूकम्पपछि यहाँ बन्द भएका शैक्षिक संस्थाहरु आइतबारदेखि खुले पनि पठनपाठन भएको छैन ।

भूकम्पपछि विद्यालयमा क्षति पुगेपछि बालबालिकामा मनोवैज्ञानिक त्रास देखिएकाले पठनपाठन नगरिएको हो ।

जिल्लामा ५० भन्दा बढी विद्यालयमा क्षति पुगेका कारण विद्यालयमा पठनपाठन नगरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार राकाचुलीमा रहेको राकाचुली प्राथमिक विद्यालयमा पूर्ण रुपमा क्षति भएपछि त्यस विद्यालयमा शिक्षकले पढाउन सकेका छैनन् ।

भवन नै पूर्ण रुपमा क्षति भएपछि उपयुक्त ठाउँको अभावमा पठनपाठन सुरु गर्न नसकेको हो । सरस्वती निम्नमाध्यमिक विद्यालय गिरुबारी, जनता उमावि कावासोती र द पायोनियर उच्चमाविको भवनमा पनि क्षति पुगेको छ । सुनवलस्थित पायोनियर उमाविको भवन तीन इन्च तल भासिएको छ ।

भवनमा क्षति पुगेपछि विद्यार्थी त्रासका कारण विद्यालयमा आएर पढ्न सकेका छैनन् । ठूलो भूकम्प दोहोरिएर नआए पनि पराकम्पन पटकपटक आएकाले शिक्षकले पनि ढुक्क भएर पढाउन नसकेको जिल्ला शिक्षा अधिकारी खड्क कमालले बताउनुभयो ।

“जिल्लाका कति विद्यालयमा क्षति भएको छ, यकिन विवरण अझै नआउँदा काम गर्न अप्ठ्यारो भएको छ”–अधिकारी कमालले भन्नुभयो–“बुधबारसम्म पूरै तथ्याङ्क आउँछ होला ।” उहाँका अनुसार तथ्याङ्क सङ्कलनका लागि स्रोत केन्द्रलाई जिम्मा दिइएको छ ।

विद्यालयको क्षतिको विवरणसहितको तथ्याङ्क आएपछि जिल्ला प्रशासनको दैवी प्रकोप उद्धार शाखा र शिक्षा विभागलाई पठाउने उहाँले बताउनुभयो । तत्काल पूर्ण क्षति भएका र कक्षा सञ्चालन गर्न निमिल्ने विद्यालयमा टेन्ट र पाल टाँगेर कक्षा सञ्चालन गराउने, जोखिम भएका र आंशिक क्षति भएका विद्यालयमा वैकल्पिक कक्षाको व्यवस्था गरी कक्षा सञ्चालन गरिने अधिकारी कमालको भनाइ छ ।

उहाँको अनुसार प्राथमिक कक्षालाई बहुकक्षा शिक्षकबाट पढाइने छ । विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुगेका विद्यालयको संरचनाको मर्मत तथा पुनः निर्माणका लागि शिक्षा विभाग र जिल्ला प्रशासन कार्यालयको दैवी प्रकोप उद्धार शाखासँग राहत उपलब्ध गराउन माग गर्ने अधिकारी कमालले बताउनुभयो ।

प्रतिक्रिया