मृत्युलाई जितेर आएँ :आरोही शेर्पा

इनेप्लिज २०७२ वैशाख २१ गते १२:५५ मा प्रकाशित

lakpa

भूकम्पले नेपालको पर्वतारोहण क्षेत्र पनि निकै प्रभावित भएको छ । विशेष गरी सगरमाथा आधार शिविर र रसुवाको लाङटाङमा क्षेत्रमा यसको ठूलो असर देखिएको छ । सगरमाथा आधार शिविरमा १८ जना आरोहीले ज्यान गुमाएका छन् भने लाङटाङमा स्वदेशी र विदेशी गरी तीन सय पर्यटकको निधन भएको आशङ्का गरिएको छ । भूकम्पका कारण झरेको हिमपहिरोले लाङटाङ क्षेत्र पूर्ण रूपले ध्वस्त भएको छ । करिब १३० जना नेपाली र करिब एक सय विदेशीको निधन भएको आशङ्का गरिएको छ । लाङटाङमा हराइरहेका पर्यटकको खोजी कार्य भइरहेको रसुवाको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिनुभएको छ । सगरमाथा आधार शिविरबाट भने दुई सयभन्दा बढी आरोहीको उद्धार गरिसकिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा अब उद्धारको काम करिब सम्पन्न भइसकेको छ । यसैसन्दर्भमा विश्वको सर्वोच्च शिखर सगरमाथामा झरेको हिमपहिरोमा परी आधार शिविरबाट ज्यान जोगाएर काठमाडौँ आइपुग्नुभएका चार पटकका सगरमाथा आरोही, नेपाल पर्वतारोहण सङ्घका सदस्य एवं अन्तर्राष्ट्रिय माउण्टेन गाईड लाक्पा शेर्पासँग सन्जोग आचार्यले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
मैले सगरमाथाको चार पटक आरोहण गरेँ तर अहिलेसम्म यस्तो भयानक दृश्य देखेको थिइनँ । सन् २००३, २००६, २००९ र २०१३ मा सर्वोच्च शिखर पुग्दा त्यस्तो डर र त्रास लागेको थिएन । यो वर्ष आधार शिविरमा नै मैले मृत्युलाई नजिकबाट देखेँ । उक्त दृश्य मेरो आँखामा अहिले पनि ताजा छ । घटना सुनाउँदा पनि मन भित्रैबाट रुन थाल्छ ।
सगरमाथा आरोहण गर्नका लागि एक जना नर्वेका आरोही एनी क्यान्टीलाई साथ लिएर म आधार शिविरतर्फ लागेको थिएँ । गत वर्ष हिमपहिरोका कारण आरोहण गर्न नपाएकोले यो वर्ष आरोहीको अनुहारमा निकै खुसी देखिन्थ्यो ।
मौसम राम्रो भएकोले आरोहण सफल हुनेमा धेरै विश्वस्त देखिन्थे । म पनि सफतापूर्वक सगरमाथा आरोहण गर्नेमा विश्वस्त थिएँ । मे महिनाको अन्तिमसम्ममा सगरमाथा आरोहण गर्ने लक्ष्यसहित धेरै आरोही आधार शिविरमा आइसकेका थिए ।
आधार शिविरमा निकै रमाइलो र खुसीयालीको माहोल थियो । धेरै थरिका पालले आधार शिविर बेहुलीझैँ रङ्गिएको थियो । मैले पनि साथीहरूसँगै मिलेर पहेँलो रङ्गको शेर्पा माउण्टेनियरिङको पाल लगाएको थिएँ । म त्यहीँ बस्थेँ । मेरो छेउमा नर्वेकी आरोही थिइन् । अर्को पालमा सहयोगी शेर्पा साथीहरू थिए ।

lakp4
अन्तर्राष्ट्रिय माउण्टेन गाईड भएकोले पनि होला, मेरो पालमा धेरै आरोही गफ गर्न आउँथे । स्वदेशी र विदेशीले आरोहणसम्बन्धमा जिज्ञासा पनि राख्थे ।
वैशाख १२ गतेको दिन आधार शिविरबाट माथि जाने हाम्रो कार्यक्रम थियो । दिउँसोको समयमा म ल्यापटप चलाएर साथीसँग कुरा गरिरहेको थिएँ । एक्कासी सगरमाथा हल्लियो । म भयभित भएँ । पालबाट बाहिर निस्किएँ ।
आधार शिविरमा रहेका पाँच सयभन्दा बढी आरोही आत्तिँदै चिच्याउन कराउन थाले, यताउति भाग्न थाले । पुमोरी क्षेत्रबाट खसेको पहिरोमा केही साथी विलिन भए । म भने हामफालेर भाग्न सफल भएँ ।
कालो र सेतो मुस्लो भएर खसेको पहिरोले मलाई छोडेन । भाग्दाभाग्दै चिप्लिएर म पनि हिउँमा पुरिएँ । मलाई धेरै ठूलो हिउँले नपुरेकोले बच्न सफल भएँ ।

lakp3

एकछिनमा बाहिर निस्किएर लामो सास फेरेँ । नयाँ जन्म पाएको अनुभव गरेँ । मृत्युलाई जितेको अनुभव भयो । यताउति हेरेँ । कोही साथी देखिनँ । मन भयभित भयो । भूकम्पका कारण खसेको हिमपहिरोले क्याम्प कता लग्यो देखिएन । आधार शिविरमा हिउँ मात्र देखियो । पाल, क्याम्प, मेरा सामान र साथीहरू कोही पनि देखिएनन् । दश लाख बराबरको सामान त्यहीँ पुरियो । मेरा साथीहरू पनि हराए ।
एकछिन डरले भयभित भएँ । भाग्ने क्रममा मेरो हात र छुट्टामा चोट लागेको थियो । पहिरो खसेको केही क्षणपछि म मेरो विदेशी साथीलाई खोज्न थालेँ । उहाँलाई हिउँमा पुरिएको अवस्थामा उद्धार गरेँ ।

lak2
मेरा अरु पाँच जना शेर्पा साथी हराइरहेका थिए । उनीहरू पनि हिमपहिरोबाट बच्न सफल भएका रहेछन् । एकछिन मन स्थिर भयो । पुनःजन्म पाएको अनुभव भयो । आधार शिविरमा मसँग आएर गफ गर्ने मेरा केही साथीको निधन भइसकेको रहेछ । केही साथी हराइरहेका थिए । बच्न सफल भएका पनि निकै आतङ्कित मानसिकतामा देखिन्थे ।
हिमपहिरो खस्न बन्द भएको केही समय आनन्दले सास मात्र के लिँदै थिएँ, फेरि अर्को त्रास फैलियो । फेरि हिमपहिरो खस्न थाल्यो । सगरमाथा हल्लिएको अनुभव हुन थाल्यो । त्यसपछि हामी आत्तिँदै तलतर्फ भाग्यौँ र बच्न सफल भयौँ ।
भूकम्पले सगरमाथा क्षेत्रका धेरै स्थान हिमपहिरो खसेको छ । आरोहणमा जाने स्थान पुरिएका छन् । यो अवस्थामा आरोहण सम्भव देखिएन । चीनले आफ्नौ भूमिबाट आरोहण बन्द गरिसकेको रहेछ । नेपाल सरकारले भने आरोहणमा जाने वा नजाने कुनै निर्णय गरेको थिएन ।
आरोहणका लागि गएका अधिकांश आरोही डरले फर्किरहेका थिए । आरोहणमा जाने सबैको सामान हिउँले पुरिएका थिए । सामान हिउँले पुरिएकोले हामी पनि अब आरोहण सम्भव नहुने भन्दै राजधानी काठमाडौँ फर्कियौँ ।

lak1

प्रतिक्रिया