भूकम्पपीडितलाई एक बन्डल जस्तापाता

इनेप्लिज २०७२ वैशाख २१ गते १०:५२ मा प्रकाशित

Arati-Stripsगोकर्णेश्वर (काठमाडौँ), २१ वैशाख । भूकम्पबाट पूर्णरुपमा क्षति भएका गोकर्णेश्वर नगरपालिकाका घरको मर्मतसम्भार तथा वैकल्पिक बसोबासको व्यवस्था गर्न एक बन्डल जस्तापाता उपलब्ध गराइने भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त भएका नगरपालिकाका बासिन्दालाई सहयोग स्वरुप एक बन्डल जस्तापाता प्रदान गर्ने निर्णय भएको उक्त नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र पूर्णरुपमा घर ध्वस्त भएकालाई नगरपालिकाले आफ्नो कोषबाट एक बन्डल जस्तापाता दिने निर्णय गरेको हो । पालले छ महिनाका लागि मात्र धान्ने भएकाले जस्तापाता दिन लागिएको नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारीले बताउनुभयो ।

“जस्तापाताले कम्तीमा १० वर्षसम्म धान्न सक्छ, त्यसैले जस्तापाता दिने निर्णय गरेका हौँ, पीडित सबैले छिटै घर बनाउन सक्छन् भन्ने पनि छैन”, उहाँले भन्नुभयो ।

नगरपालिकाका बालुवा, नयाँपाटी र सुन्दरीजल क्षेत्रका वडाहरु निकुञ्जसित जोडिएको पहाडी भेग भएकाले अधिकांश घर पुराना र कच्ची थिए । ती सबै घर पूर्णरुपमा क्षति भएका नगरपालिकाको राजनीतिक संयन्त्रका सदस्य एवम् नेपाली काँग्रेस ३ नं क्षेत्रीय सचिव श्रीकृष्ण ज्योतिले बताउनुभयो ।

“नगरपालिकाको ६ नं वडाको निकुञ्जसित जोडिएका पाखाथोकमा ३०८ घर पूर्णरुपमा भत्केका, ६१ घर चर्केका र नौ घरमा आंशिक क्षति भएको छ, भीमदेव प्राथमिक विद्यालय र पाञ्चायन मन्दिर पाखाथोकका सार्वजनिक भवन पनि पूर्णरुपमा क्षति भएका छन्”, उहाँले भन्नुभयो ।

नगरपालिकाको ६ नं वडामा मानवीय क्षति नभए पनि १२ वटा घरपालुवा पशु मरेका छन् । चार जना घाइते भएका छन् । अधिकांश तामाङ बस्ती रहेको नगरपालिकाको १, २, ४, ६, ७ र ८ वडाका बस्तीलाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले समेत आफ्नो सूचकाङ्कमा दुर्गम क्षेत्र भनी उल्लेख गरेको छ । ती स्थान विकास निर्माणका दृष्टिले पनि कमजोर रहेका सूचकाङ्कमा उल्लेख छ ।

साविकको बालुवा गाविस हालको नगरपालिकाका ७ र ८ वडाका सुन्ताखान र तारेभीर क्षेत्रका ५०४ घर ध्वस्त भएका छन् । वडा ८ को नगरकोटी बस्तीका सबै घर पूर्णरुपमा ध्वस्त भएका छन् । मानवीय क्षति नभए पनि सात जना गम्भीर घाइते भएका छन् ।

नगरपालिकाको वडा ४ का नयाँपाटी, गराडोल, भूमिस्थली, खड्कागाउँ, रुप्सेटार र साल्मेटोललगायतका स्थानमा पनि पुराना शैलीका घर पूर्णरुपमा भत्किएका छन् । यस क्षेत्रमा २४० घर पूर्णरुपमा ध्वस्त भएका, ६० घर चर्केका दुई जनाको मृत्यु भएको र ३ जना गम्भीर घाइते भएको स्थानीयवासी सरोज चालिसेले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नं ४ मा पर्ने ऐतिहासिक स्थल बिपी सङ्ग्रहालय पनि भूकम्पले क्षति भएको छ । सङ्ग्रहालयको दक्षिण भागको पर्खाल भत्किएर पूर्णरुपमा क्षति भएको अन्य भागका पर्खाल पनि पूर्णरुपमा चर्किएर सरेकाले धराप अवस्थामा पुगेको अध्यक्ष परशुराम पोखरेलले बताउनुभयो ।

ऐतिहासिक भवनको एउटा पाखो पूर्णरुपमा भत्किएको छ भने बाँकी भाग चर्किएर ढल्ने अवस्थामा पुगेको छ । “बाँकी भाग पनि चर्किएर चिजबिज सङ्ग्रह गर्न नसकिने अवस्थामा पुगेको छ, तस्बिरलगायत सङ्ग्रहित चिजबिज अन्यत्र सुरक्षित रुपमा राखिएको छ, २०० वटा ऐतिहासिक तस्बिर भूकम्पले क्षति भएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।

उक्त वडाको रामजानकी निम्न माध्यमिक विद्यालय पनि अध्ययन अध्यापन गर्न नसकिने गरी चर्किएको छ । विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन । शैक्षिक सत्र सुरु हुन लाग्दा भवनमा क्षति भएकाले विद्यालय चलाउने कसरी भन्ने चिन्ताले सताएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर खनालले बताउनुभयो । “विद्यालयको कोषमा रकम छैन, सरकारी कोषबाट कहिले पैसा ल्याएर भवन बनाई पठनपाठन सञ्चालन गर्ने? हामी चिन्तामा डुबेका छौँ”–उहाँले भन्नुभयो ।

नगरपालिकाको वडा ५ का १२९ घर पूर्णरुपमा क्षति भएको, ९५ घरमा आंशिक क्षति भएको र तीन जना घाइते भएको वडा निवासी सानु श्रेष्ठले बताउनुभयो ।

उक्त नगरपालिकामा जम्मा २ हजार घर पूर्णरुपमा क्षति भएका, ३ हजार घरमा आंशिकरुपमा क्षति भएका, १६ जनाको निधन भएका र ५०० जना घाइते भएका अधिकृत तिवारीले बताउनुभयो । २०६८ सालको जनगणना अनुसार ३० हजार घरधुरी रहेको नगरपालिकामा १ लाख ८ हजार जनसङ्ख्या रहेको छ ।

काठमाडौँको पूर्वोत्तर क्षेत्रका सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्णेश्वर र जोरपाटी गरी पाँच वटा गाविसलाई समावेश गरी सरकारले गोकर्णेश्वर नगरपालिकाको घोषणा गरेको थियो ।

प्रतिक्रिया