भूकम्पपीडित १८ हजार २६१ को उपचार

इनेप्लिज २०७२ वैशाख २० गते १२:१२ मा प्रकाशित

nepal_arthquake8_काठमाडौँ, २० वैशाख । अघिल्लो शनिबार आएको विनाशकारी भूकम्पका कारण घाइते भएका १८ हजार २६१ जनाको उपचार भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी धादिङमा ६६४, सिन्धुपाल्चोकमा एक हजार २२०, दोलखामा २१६, नुवाकोटमा चार हजार ३८५, निजामती अस्पतालमा दुई हजार २००, भक्तपुरमा दुई हजार २५८, रामेछापमा २००, काभ्रेपलाञ्चोकमा तीन हजार ६५९, सिन्धुलीमा १३३ गोरखामा ३७२, रसुवामा ६००, मकवानपुरमा ३००, काठमाडौँ मेडिकल कलेज दुवाकोटमा ८९८, लमजुङमा १९३, वीर अस्पतालमा ५७५, ओखलढुङ्गामा ८८ र उपत्यकाको खुला शिविरमा ३०० भन्दा बढीको उपचार भएको प्रवक्ता डा गुणराज लोहनीले बताउनुभएको छ ।

उहाँका अनुसार आज मध्याह्नसम्म भूकम्प प्रभावित क्षेत्रमा उपचारका लागि मन्त्रालयबाट परिचालित भएका ७० वटा अन्तर्राष्ट्रिय टोलीमा ७०० भन्दा बढी मेडिकल विशेषज्ञ रहेका छन् भने १०० भन्दा बढी राष्ट्रिय तथा गैरआवासीय टोलीमा एक हजारभन्दा बढी चिकित्सक, परिचारिका र स्वास्थ्यकर्मी छन् ।

घाइतेको उपचार तथा सूचना उपलब्ध गराउने काममा सहजता ल्याउन आजैदेखि टोल फ्री नं १६६००१३३४४४ ल्याइएको र प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकिएको छ ।

दैवी प्रकोप उद्धार कोषबाट प्राप्त रु दुई करोड र सरकारबाट प्राप्त रु एक करोड ३० लाख विभिन्न स्वास्थ्य संस्थामा पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया