भूकम्पले एक लाख छब्बीस हजार गर्भवती प्रभावित

इनेप्लिज २०७२ वैशाख २० गते ५:०५ मा प्रकाशित

Nepalese people pack their belongings to go back homeकाठमाडौँ, २० वैशाख । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले करिब एक लाख २६ हजार गर्भवतीका भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ ।

युएनएफपिएले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा झन्डै एक लाख २६ हजार गर्भवती प्रभावित भएको र २० लाख प्रजनन उमेरका किशोरी भूकम्पबाट प्रभावित भएको उल्लेख छ । भूकम्पजस्ता प्राकृतिक प्रकोपका सन्दर्भमा महिला र किशोरी सबैभन्दा बढी कमजोर जनसङ्ख्या हुन् । प्राकृतिक प्रकोपका समयमा गर्भधारणसम्बद्ध मृत्यु र महिला हिंसा बढ्छन् । अधिकांश महिलाले अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाको पहँुच गुमाएका हुन्छन् । सुरक्षित सुत्केरी सेवा तथा जीवन रक्षाको हेरचाह सुविधाबिना नै बच्चा जन्माउने गरेको विज्ञप्तिमा उल्लेख छ ।

युएनएफपिएका अनुसार भूकम्प प्रभावित जिल्लाका महिलाका आवश्यकतालाई सहयोगस्वरुप प्रजनन स्वास्थ्य सामग्री प्रदान गरिएको छ, जसमा सुरक्षित रूपमा सुत्केरी गराउन आवश्यक सामग्री छन् । युएनएफपिए प्रतिनिधि जुलिआ भलिसीले युएनएफपिएले महिला र प्रजनन उमेरका किशोरीका लागि अत्यावश्यक सरसफाइका सामग्रीसहितका रक्षासामग्री (डिग्निटी किट) पनि उपलब्ध गराइरहेको र आगामी समयमा पनि महिला र किशोरीका आवश्यकतालाई सम्बोधन गर्दै जाने बताउनुभयो ।

प्राकृतिक प्रकोपपछि विस्थापितका शिविरलगायत लैङ्गिक हिंसा रोकथाम गर्न युएनएफपिएले नेपाल सरकार र साझेदारसँग मिलेर रोक्न काम गरिरहेको छ । युएनएफपिएले सन् २०१४ को अगस्टमा आएको बाढीपहिरोलगायत यसअघिका सङ्कटका बेलामा पनि नेपाल सरकारलाई सघाउँदै आएको छ ।

प्रतिक्रिया