भूकम्पपीडितको समस्या बुझ्न नआएकामा आक्रोश

इनेप्लिज २०७२ वैशाख २० गते ४:४५ मा प्रकाशित

imagesभक्तपुर, २० वैशाख । विनाशकारी भूकम्पले क्षति पुर्‍याएको आठ दिन बित्दा पनि जनताको अवस्था बुझ्न राजनीतिक दलका नेता गाउँ नआएपछि पीडित आक्रोशित भएका छन् ।

चुनाव आएपछि भोट माग्न घरघर आउने नेताहरु अहिले जनतालाई विपद् पर्दा अझैसम्म एक पटक पनि गाउँमा जनताको अवस्था बुझ्न नआएकामा रोष व्यक्त गरिरहेका छन् । सिपाडोलका अनुप कासुलाले गाउँमा सबै घर भत्किएर जनताको बिजोग हुँदा पनि दलका नेताहरु अझैसम्म नआएको बताउनुभयो । उहाँले भन्नुभयो–“जनतासँग भोट माग्न आउने नेताहरु अहिले हामीलाई विपद् पर्दा एक पटक गाउँ आएका छैनन्, चुनाव आउँदा नेताहरु भोट आए भने गाउँबाटै लखेट्छौँ ।”

सुडालका लक्ष्मण पुरीको गुनासो पनि उस्तै छ । गाउँमा जनताको हालत बुझ्न अझैसम्म पनि कोही नेता नआएको गुनासो गर्दै उहाँले भन्नुभयो–“यहाँका सबैको घर भत्कियो, गाउँमै चारको ज्यान गयो, २० गाईभैँसी र बाख्रा पुरिएर मरे, ओत लाग्ने ठाउँसम्म छैन, तर कोही नेता आएनन्, जनतालाई दुःख पर्दा नआउने नेता अब के काम ?”

भूकम्प गएर सबैलाई पीडा थपिएको बेला जनताको अवस्था बुझ्न नेता गाउँ जान सकेका छ्रैनन् । भक्तपुरमा बस्ने सभासद्, मन्त्री र जिल्ला तहका नेताहरु अझै पनि गाउँ गाउँ गएका छैनन् । नेमकिपाका अध्यक्ष एवम् सभासद् नारायणमान बिजुक्छे, प्रेम सुवाल र अनुराधा थापा मगर, नेपाली काँग्रेसका रामेश्वर ढुङ्गेल भक्तपुरबाट प्रतिनिधित्व गर्ने सभासद् हुन् भने नेकपा(एमाले)का महेश बस्नेत उद्योगमन्त्री हुन् ।

सभासद् र मन्त्री त गाउँ पसेनन् पसेनन् कम्तीमा स्थानीय नेतासमेत गाउँ नपसेको ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो छ । छालिङ गैँडा गाउँकी शोभा गैँडा अझैसम्म पनि गाउँको हालत बुझ्न कोही नआएको बताउनुहुन्छ । उहाँले भन्नुभयो–“गाउँ सबै सखाप भएको छ, प्लास्टिक ओढेर बसेका छौँ, न त कोही पाल दिन आएका छन्, न त राहत दिन नै, न त सरकारी निकाय नै यहाँको अवस्था बुझ्न आएका छन्, न त कोही नेता नै ।”

दधिकोट सिकारीटार अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रको सबैभन्दा बढी प्रभावित गाउँ हो । बहत्तर घर रहेको यो गाउँमा घरमा पुरिएर छ जनाको ज्यान गयो भने २२ घाइते भए । चौंसठ्ठी घर त पूर्ण रुपमा क्षति भएको छ । नेवार र क्षेत्रीको बस्ती रहेको यहाँ अझै कोही नेता पुगेका छैनन् ।

स्थानीयवासी अनिल श्रेष्ठ भन्नुहुन्छ–“यहाँको अवस्था बुझ्न कोही नेता आएका छ्रैनन्, यहाँ आएका चार वटा पाल पनि चुहिएको छ, शुक्रबार नगरपालिकाले सात बोरा चामल बाँड्यो, त्यति नै हो, गाउँकै उद्योगमन्त्री महेश बस्नेत रित्तो हात आए, हेरे, राहत आउने आश्वासन दिएर फर्किए ।”

जिल्लाका सभासद् आआफ्ना गाउँमा गए पनि आफ्नो निर्वाचन क्षेत्रका जनताको अवस्था बुझ्न गाउँ गाउँ गएका छ्रैनन् । जिल्ला तहका नेताहरु पनि गाउँ पुग्न सकेका छैनन् । सानो जिल्ला भक्तपुर चाहने हो भने एक दिनमै आफ्नो निर्वाचन क्षेत्र घुम्न सकिन्छ, तर पनि कोही गाउँ नगएको सबैको गुनासो छ ।

भग्नावशेष पन्छाउन सुरु
खोजी तथा उद्धारमा शव नपाइएपछि अब भग्नावशेष पन्छाउने कार्यको थालनी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरीनायब उपरीक्षक श्यामकृष्ण अधिकारीले भक्तपुरमा पुरिएका शव निकाल्ने काम सकिएकाले अब भग्नावशेष पन्छाउने कार्यको थालनी भएको बताउनुभयो ।

मानिस पुरिएको ठाउँमा खोजी सकिएको बताउँदै उहाँले नगरभित्र मानिस पुरिएको गुनासो अब नआएकाले भग्नावशेष पन्छाउने कार्यको थालनी भएको बताउनुभयो । यहाँ आजसम्म ९४ पुरुष र १८३ महिला गरी २७७ जनाको शव बरामद भएको छ भने एक हजार ९०० घाइते भएका छन् ।

भक्तपुरका बासिन्दाबाहेक यहाँ घुम्न आउने पनि भत्किएको घरको भग्नावशेषमा परेको हुन सक्ने भएकाले यहाँ भत्किएका घरको भग्नावशेष हटाउने कार्य गर्दा भेटिन सक्ने आशङ्का गरिएको छ । नगरभित्र दुर्गन्ध फैलिएपछि यहाँका बासिन्दालाई पालमुनि बस्नसमेत समस्या परेको छ । अझै पनि पुरिएको शव हुन सक्ने, खुल्ला शौचालय, अन्नपात र अन्य कुहिने पदार्थका कारण पनि दुर्गन्ध फैलिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया