भूकम्पपीडितलाई राहत वितरण गर्न झापाली टोली सिन्धुलीतर्फ

इनेप्लिज २०७२ वैशाख १८ गते ९:५० मा प्रकाशित

11188497_1703907366503192_5876612664364816039_nसुरुङ्गा (झापा), १८ वैशाख । सिन्धुलीका भूकम्पपीडितका लागि रु १० लाखबराबरको राहत सामग्री वितरणका लागि एक सय २६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर हार्डवेयर व्यवसायी सङ्घ झापाको नौ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापासँग समन्वय गरी राहत सामग्री वितरणका लागि सङ्घका अध्यक्ष मातृका कोइरालासहितको टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रशासन कार्यालय झापाका खरिदार ज्ञानमणि पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार सङ्घले सिन्धुलीमा रहेका भूकम्पपीडितका लागि ३०० घरपरिवारलाई अत्यावश्यकीय सामग्री वितरण गर्न लागेको हो ।

झापाबाट गएको टोलीले ३००/३०० थान शय्या, कम्बल, त्रिपाल, ४० पोका चिउरा, ४० बाकस चाउचाउ, ४० बाकस तेल, ४० बाकस पानी, ४० बाकस बिस्कुट र ४० पोका नुन लगेको बताइएको छ ।

यसैगरी मारवाडी महिला मञ्चले त्यहाँ रहेका ३०० परिवारका महिलाका लागि लत्ताकपडासहित सौन्दय प्रसाधनका सामान पठाएको छ । मञ्चका अध्यक्ष दीपा खेडियाका अनुसार बालबालिका र महिलाका लागि रु दुई लाख बराबरको सामान हार्डवेयर व्यवसायी सङ्घमार्फत पठाइएको हो ।

प्रतिक्रिया