भरतपुर अस्पतालमा एक सय उनन्तीसको उपचार

इनेप्लिज २०७२ वैशाख १८ गते २:११ मा प्रकाशित

bharatpur-hospitalरत्ननगर (चितवन), १८ वैशाख । भूकम्पपीडितमा परी घाइते भएकामध्ये १२९ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भएको अस्पतालले जनाएको छ । जसमा ४९ महिला र ८० पुरुष रहेका छन् ।

विभिन्न जिल्लाबाट आएका घाइतेको यहाँ निःशुल्क उपचार भइरहेको छ । चितवनमा धेरै क्षति नभएको र घाइते पनि कम भएकाले अन्य जिल्लाका बिरामीको यहाँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा ११ को शल्यक्रिया गरिएको र अधिकांशको हड्डी भाँचिएका बिरामी रहेको अस्पतालले जनाएको छ । अहिलेसम्म यहाँ उपचार भएका ३७ जना घर फर्किएका छन् ।

यहाँ चितवनसहित सिन्धुली, नवलपरासी, रसुवा, धादिङ, नुवाकोट, ललितपुर, गोरखा, सिन्धुपाल्चोक, बारा, तनहुँ र मकवानपुरका बिरामी आएको अस्पतालले जनाएको छ । विभिन्न सङ्घसंस्थाको पहलमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजका बिरामी कुरुवालाई निःशुल्क बिहान–बेलुका खाने व्यवस्था गरिएको छ । अहिलेसम्म डिस्चार्ज भएर घर फर्कने बिरामीलाई भाडास्वरुप रकमका साथै तीन दिनका लागि पुग्ने खाजा पनि दिएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालका चिकित्सक भोजराज अधिकारीले बिरामीको चाप बढिरहेकाले नियमित रुपमा उपचार जारी रहेको बताउनुभयो । चितवनमा भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजले पनि सयभन्दा बढी भूकम्पपीडितका घाइतेको उपचार गरिसकेको छ ।

प्रतिक्रिया