राहत सामग्री वितरण

इनेप्लिज २०७२ वैशाख १८ गते २:०१ मा प्रकाशित

Faya-team-dhnविराटनगर, १८ वैशाख । मोरङ उद्योग सङ्गठनले पठाएका दुई ट्रक खाद्यान्न सामग्री काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई वितरण गरिएको छ ।

सो जिल्लाका गौरीविसौंना र देवपुर गाविसका एक हजार भूकम्पपीडितलाई एक सातासम्म पुग्ने खाद्यान्नलगायत सामग्री बिहीबार वितरण गरिएको मोरङ उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालले जानकारी गराउनुभयो ।

साथै ओखलढुङ्गा र भोजपुरका पीडित परिवारका लागि पनि राहत सामग्री पठाइएको छ । पीडितका लागि राहत सङ्कलन गर्ने कार्यलाई तीव्र गति दिएको अध्यक्ष अग्रवालले बताउनुभयो । पीडितलाई च्युरा, चामल, तेल, पाउडर दूध, लिटो, नुन, त्रिपाल, बाल्टीलगायत सामान वितरण गरिएको छ ।

त्यसैगरी श्रीपुचः विराटनगरले एक ट्रक खाद्यान्न भक्तपुरका भूकम्पपीडितका लागि पठाएका छन् । तीन हजार किलो चामल, दस कार्टुन तेल, १५० किलो दाल, पाँच बोरा नुन, एक सय कार्टुन पानीलगायत सामग्री पठाइएको सो संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकारी गराउनुभयो । नेपाल रेडक्रस मोरङले पूर्वका भोजपुर, ओखलढुङ्गा र सोलुखम्बुका भूकम्पपीडित परिवारका लागि एक हजार थान पठाएको छ ।

प्रतिक्रिया