उपत्यकामा भूकम्पको त्रास कम भएपछि सर्वसाधारण घर फर्कदै…….

इनेप्लिज २०७२ वैशाख १६ गते ९:४२ मा प्रकाशित

sadak-6काठमाडौँ, १६ वैशाख । भूकम्पको त्रास कम भएसँगै उपत्यकाकाको तीनवटै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।

त्रसित मानसिकतामा रहेका सर्वसाधारण भूकम्पको कम्पन कम भएपछि आज बिहानैदेखि आ–आफ्ना घर फर्केका छन् ।

धेरै मानिसहरु अब भूकम्प आउँदैन भनेर घर फर्किए पनि केही मानिसहरु भने खुल्ला स्थानमा पालमुनि बसिरहेका छन् ।

मङ्गलबारदेखि नै सरकारले पनि भूकम्पको त्रास कम हुँदै गएकाले घर फर्कन सर्वसाधारणलाई आग्रह गरेको थियो ।

भूकम्पविद्हरु पनि ठूलो भूकम्पपछि सानातिना कम्पनहरु आउनु स्वाभाविक प्रक्रिया भएकाले यसबाट नआत्तिई घर फर्कन हुने बताउनुहुन्छ ।

हिजोदेखि नै राजधानीका सडकमा बाक्लो सङ्ख्यामा सवारी साधन गुड्न थालेका छन्, सर्वसाधारणको चहलपहल पनि बढेको छ ।

संविधानसभा भवन अगाडिको खुल्लास्थानमा एकवर्षीय बच्चासहित चारदिनदेखि बस्दै आउनुभएकी शान्ति राउत पनि आज आफ्नो ओड्नका लागि लगेको गुण्टा लिएर घर फर्किनुभएको छ । “अब त भूकम्प आउँदैन रे, आएपनि सामान्य मात्रै आउँछ रे भनेर म त घरतिर लागेँ”–उहाँलाई हिजोदेखि नै ठूलो झड्का नआएकाले अब केही नहोला भन्ने लागेको छ ।

एकपछि अर्को गर्दै घर, खुला चउर, पाल आदि बसेको स्थानबाट घरतर्फ लागेपछि अरुलाई पनि घर फर्कने आँट मिलेको र खुल्लामञ्चबाट अनामनगर कोठातिर लागेको रोशन श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीले पनि अब भूकम्पको ठूलो झड्का जाने कुनै त्रास नभएको र कुनै त्यस्तो हल्ला भए पनि त्यो बेकारको हल्ला मात्रै भएको र अब घरमा बस्ने सकिने बताउनुभयो ।

प्रतिक्रिया