भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या दिनहुँ बढ्दै

इनेप्लिज २०७२ वैशाख १६ गते ९:३४ मा प्रकाशित

SAN4272बनेपा, १६ वैशाख । सिन्धुपाल्चोक जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ ।

वाग्मती अञ्चल प्रहरी कार्यालय, जनगाल, काभ्रेपलाञ्चोकका अनुसार अहिलेसम्म मृतकको सङ्ख्या एक हजार ३७६ पुगेको छ भने ७०० भन्दा बढी घाइते भएका छन् ।

सो कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप आचार्यका अनुसार बिहान सिन्धुपाल्चोक पुगेको हेलिकोप्टर मौसम खराबीका कारणले उद्धार कार्य गर्न सकेको छैन ।

उहाँले सञ्चार सम्पर्क नभएका कारण उद्धारमा जटिलता थपिएको उल्लेख गर्दै मृतक र घाइतेको सङ्ख्या अझै बढ्ने बताउनुभयो ।

राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोकका प्रमुख उत्तम खनालले तातोपानी गाविसमा हेलिकोप्टरबाट उद्धार गर्ने कार्य भइरहेको गाउँगाउँबाट विभिन्न सवारी साधनमार्फत उद्धार कार्य भएको बताउनुभयो । जिल्लामा जलबिरे, बासखर्क, शेर्पाथाङ, फूलपिङ्कट्टीलगायतका गाविसमा ठूलो जनधनको क्षति भएको छ ।

यसबीच काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न गैरसरकारी संस्थाले राहत सामग्री उपलब्ध गराउन थालेका छन् ।

रोटरी क्लब अफ बनेपा र सिड्रा नेपालले सात किलो चामल, एक किलो गेडागुडी, एक किलो दाल, एक किलो नुन, एक लिटर तेल, मसला, बाल्टी, जग र पाँच थान थाल पीडित परिवारलाई मृतकका आफन्तलाई उपलब्ध गराइने रोटरी क्लबका पूर्वअध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले जिल्लाभरिका लागि एक हजार पीडित परिवारलाई त्यस्तो सामग्री उपलब्ध गराइने बताउनुभयो ।

प्रतिक्रिया