रक्तसञ्चार केन्द्र भरतपुरमा घाइतेका लागि रगत जगेडा

इनेप्लिज २०७२ वैशाख १५ गते १२:०४ मा प्रकाशित

thumb.phpचितवन, १५ वैशाख । शनिवारको विनाशकारी भूकम्पबाट चितवन र छिमेकी जिल्लामा भएका घाइतेको उपचारका लागि रगत आवश्यक पर्नसक्ने भन्दै क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जगेडा रगत सङ्कलन गरेर राखेका छन् ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल जगेडा ७५० युनिट रगत केन्द्रमा छ । भूकम्पपछि विभिन्न सङ्घ संस्थाले आयोजना गरेका कार्यक्रम र केन्द्रमा पुगेर स्वतःस्फूर्त व्यक्तिबाट रगत सङ्कलन गरिएको हो । धेरै रगत झिकेर राख्दा उपयोग हुन नसक्ने भन्दै रक्तसञ्चार केन्द्रले आजदेखि भने इच्छुक व्यक्तिको नाम, रक्त समूह र सम्पर्क नम्बर लिएर राखेको छ । काठमाडौँमा बिरामीको सङ्ख्या बढेसँगै छिमेकी जिल्लाबाट चितवनमा घाइते ल्याउने क्रम जारी छ । हालसम्म २३७ जना उपचारका लागि भरतपुर आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी धादिङका ६० जना, गोरखाका ५३ जना र नुवाकोटका ४३ जना रहेका छन् । त्यसैगरी रसुवा, मकवानपुर, नवलपरासी, लमजुङ, सिन्धुली, बारा, रौतहट, सर्लाही, तनहुँ र ललितपुरका घाइतेको जिल्लाको एक सरकारी भरतपुर अस्पताल, दुई मेडिकल कलेज र क्यान्सर अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले बताउनुभयो । निजी अस्पतालमा समेत घाइतेलाई ल्याइएको भए पनि यकिन तथ्याङ्क नआएको उहाँले बताउनुभयो ।

घाइतेको शल्यक्रियाका लागि बढी रगत आवश्यक पर्दछ । रक्त सञ्चारकेन्द्र भरतपुरबाट दैनिक १०० देखि १५० युनिटसम्म रगत खपत हुने गर्दछ ।

प्रतिक्रिया