भूकम्पका कारण ओखलढुङ्गामा १७ को मृत्यु

इनेप्लिज २०७२ वैशाख १५ गते ४:४५ मा प्रकाशित

thumb.phpकाठमाडौँ, १५ वैशाख । भूकम्पका कारण ओखलढुङ्गामा १७ जनाको मृत्यु भएको छ, भने २० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

घाइतेमध्ये १७ जनाको स्थानीय मिसन अस्पतालमा उपचार भइरहेको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

ओखलढुङ्गामा पाँच हजारभन्दा बढी घर ध्वस्त भएका छन् । जिल्लाका टारकेराबारी, पोकली, फिजीफलाटे, फुलबारी, गामनाङटारलगायत गाविस बढी प्रभावित भएका छन् ।

पश्चिमी क्षेत्रमा सडक बाटो अवरुद्ध भएको र मौसम प्रतिकूल रहेकाले हेलिकप्टर पनि राहतका सामग्री लिएर जान नसकेको प्रजिअ भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार सदरमुकाम आसपासका गाविसमा राहत वितरणको काम भइरहेको छ । मृतकका परिवारलाई रु ४० हजार र घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

क्षेत्रीय प्रशासन कार्यालयको समन्वयमा विराटनगरको रेडक्रस, उद्योग वाणिज्य सङ्घको सहयोगमा उद्धार र राहत वितरण भइरहेको जनाइएको छ । फुलबारी गाविसका तीन जना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचार गरिरहेको छ ।

ओखलढुङ्गा क्षेत्र नं २ का सभासद् रामहरि खतिवडाले जिल्लामा भूकम्प पीडितको उद्धार तथा राहतका लागि पहल जारी रहेको र हेलिकप्टरमार्फत एक हजार थान पाल पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

यसैबीच रामपुर गाउँका बासिन्दाले घरबाहिर बस्नुपरेकाले त्रिपालको माग गरेका छन् ।

प्रतिक्रिया