रसुवा, १४ वैशाख । शनिबारको विनासकारी भूकम्पबाट रसुवामा एक सय ५२ जनाको मृत्यु भएको छ ।
मृतकको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लाङटाङ क्षेत्रमा पर्यटकसहित तीन सयभन्दा बढी मानिस अलपत्र परेका छन् । उनीहरुको हेलिकप्टरबाट उद्धार भइरहेको प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।
यसैगरी भूकम्पपछि रसुवा भन्सार र अध्यागमन कार्यालयका गरी चार जना कर्मचारी बेपत्ता छन् । उनीहरु पहिरोमा परेको आशङ्का गरिएको छ । रसुवागढी भन्सार वरपरका ११ जना होटल व्यवसायी समेत हराइरहेको प्रहरीले जनाएको छ ।
“भन्सारमा सवारी जाँचका लागि आएका २० जना चालक र सह–चालकको समेत अवस्था अज्ञात छ,” प्रहरी नायव उपरीक्षक पोखरेलले भन्नुभयो ।
यस्तै सदरमुकाम धुन्चेदेखि दुई दिनको दूरीमा रहेको लाङटाङस्थित नेपाली सेनाको चौकीमा तैनाथ १० सैनिकको अवस्था समेत अज्ञात छ । भूकम्पबाट घाइते हाबु, डाडाँगाउँ र ठूलोगाउँ गाविसका बासिन्दा उपचारका लागि हेलिकप्टर पर्खिरहेको अवस्था छ । उनीहरु उद्धारको पर्खाइमा छन् ।
प्रतिक्रिया