यस्तो छ अमेरिकामा चुरोट र खैनीको प्रयोगः——जनधनको अकल्पनीय क्षति:एक विषेश चिरफार

इनेप्लिज २०७२ वैशाख १२ गते १:०४ मा प्रकाशित

kabin-1-800x214

‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश’ भनेजस्तै हाम्रो आदत र बानी–ब्यवहारका कारण हाम्रो जनजीवन, जनस्वास्थ्य र यसबाट समग्र मानव समाज प्रत्यक्ष एवं परोक्षरूपमा प्रभावित हुने गर्दछ । झट्ट हेर्दा केही जस्तो नलाग्ने र यसको प्रभाव आँकलन नगरे पनि केटाकेटीको गुलेली खेलपछि मट्याङ्ग्राको सत्यानाशजस्तै हाम्रो जनजीवन र यसको नकारात्मक प्रभावका कारण समुच्च मानव समुदायको समृद्धिमा ठूलो बाधा पुग्ने गर्दछ । यस लेखमा हाम्रो आचरण र बानीका कारण हाम्रो जनस्वास्थ्यमा असर त पर्छ नै, यसबाट समाज र समुदायमै पर्ने गरेको प्रत्यक्ष एवं परोक्ष असरबारे चर्चा गर्ने कोशिष गरेको छु । धुम्रपान, खैनी, मध्यपान र लागूऔषधको प्रयोगबाट ब्यक्ति, समाज एवं समग्र राज्यले निकै क्षति ब्यहोर्नु परिरहेको छ । मुख्यतः अमेरिकामा धुम्रपान र खैनीको प्रयोग, यसबाट जनस्वास्थ्यमा परिरहेको असर, ठूला रोग एवं राज्यले ब्यहोरिरहेको जनधनको क्षति सँगसँगै अमेरिकामा चुरोटको उत्पादन, प्रयोग, आर्थिक राजश्व र स्वास्थ्य क्षेत्रले ब्यहोरिरहेको क्षतिलाई मुख्य विषयवस्तु बनाएको छु ।

आखिर किन गर्छन् त अमेरिकीहरू अत्यधिक धुम्रपान ? उनीहरूलाई यसबाट स्वास्थ्यमा हुनसक्ने असर र क्यान्सरजस्ता प्राणघातक रोगबारे जानकारी हुँदाहुँदै पनि किन प्रयोग गर्छन् त ? यो प्रश्न गम्भीर छ । क्यालिफोर्नियाको विश्वविध्यालयले गरेको एक अध्ययन अनुसार, अमेरिकामा अत्यधिक रूपमा गरीवहरू चुरोट पिउँछन् । पारिवारिक एक्लोपन, ब्यक्तिगत, पारिवारिक एवं आर्थिक तनाव, कार्यक्षेत्रमा हुने कामको तनाव, थकाइ र डिप्रेसनका कारण अत्यधिक धुम्रपान गर्ने गरेको पाइएको छ । अझ अमेरिकाको ग्रामीण भेगका बासिन्दाले बढी धुम्रपान गर्ने गरेको अध्ययनले देखाएको छ । १० जना ग्राहकमा सात जना अम्मली हुने र उनीहरूले चुरोट, खैनीलगायतका सुर्तीजन्य पदार्थ किन्ने गरेको अमेरिकी खुद्रा ब्यापार बिक्रेता संघले जनाएको छ ।

अमेरिकामा सार्वजनिक स्थलका साथै केही वर्षयता रेष्टुरेन्ट र होटलका विशेष धुम्रपान स्थलबाहेक धुम्रपान गर्न पाइन्न । चुरोट, खैनी र सुर्तीजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न पनि निषेध गरिएको छ । विश्वका झन्डै तीन सय ब्राण्डका चुरोटमध्ये झन्डै दुई सय त अमेरिकामै उत्पादन हुने गरेको रहेछ । सम्झेर दिमागमा राख्नै नसकिने अनेकौं थरिका चुरोट छन् । तिनका स्वाद पनि फरक फरक छन् । अमेरिकामा कडा निकोटिन र हल्का निकोटिनसहित रेगुलर, लाइट, अल्ट्रा लाइट, मेन्थल, मेन्थल लाइट, मेन्थल अल्ट्रा लाइट, सानो, मध्यम र लामो सबै प्रकारका चुरोटहरू बन्दछन् । मार्लबोरो, न्यूपोर्ट, एल एण्ड एम, बेसिक, क्यामेल, सेलम, विन्सटन, ताहो, कुल, मिष्टी, पिरामिड, काप्री, पलमल, यूएसए गोल्ड, पार्लियामेन्टजस्ता थुप्रै ब्राण्डका चुरोटहरूको अत्यधिक खपत र प्रयोग हुने गरेको छ । त्यसैगरी अमेरिका अन्य कमसल र सस्तो मूल्यमा पाइने चुरोटहरू पनि उत्तिकै छन् । मानिसले आफ्नो आर्थिक हैसियतअनुसार चुरोट पिउँछन् । गरीवले सस्ता चुरोट पिउँछन् । अमेरिकामा एक जना ब्यक्तिले दैनिक सरदर एकदेखि तीन बट्टासम्म चुरोट सेवन गर्ने गरेका छन् । त्यसैगरी अमेरिकामा कोपन हेगन, ग्रिज्ली, स्कोल, रेडसिल, कोडियाक, लङहर्न, रेडम्यान, कायाक, टिम्बर उल्फलगायतका खैनीहरू प्रयोग हुने गरेका छन् । त्यसैगरी चुरोट र खैनीजस्तै विभिन्न फलफूलका स्वादमा पाइने सिगारहरू पनि अमेरिकामा उत्तिकै खपत हुने गरेका छन् ।

अमेरिकामा १८ वर्ष नपुगेको ब्यक्तिले चिठ्ठाका साथै कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ र यससँग सम्बन्धित कुनै पनि सामग्री किन्न र प्रयोग गर्न पाउँदैन । यदि बिक्री गरेको पाइएमा किन्ने र बेच्ने दुबैलाई ठूलो जरिवाना लाग्दछ । त्यसैले कतिपय अवस्थामा कानुनी निकाय र प्रहरीहरूले छड्के जाँचका लागि १८ वर्ष नपुगेकालाई सुर्तीजन्य पदार्थ किन्न पठाउने गरेको पाइन्छ । त्यस्तो अवस्थामा पसलमा पसलेले १८ वर्ष नपुगेकोलाई बिक्री गर्यो भने तुरुन्तै प्रहरी आएर प्रमाणसहित जरिवाना कागज दिएर जान्छ र अन्त्यमा बेच्ने ब्यक्ति अदालतमा उपस्थित हुनुपर्छ । कुनै पसल वा ब्यक्तिले लगातार तीन पटकभन्दा बढी बेचेको पाइएमा पसल नै बन्द गरिदिने र बेच्नेलाई काम गर्न नपाउने गरी बन्देज नै गरिदिन सक्छ । त्यसैले यसरी बेचबिखन गर्दा शंका लागेमा परिचयपत्र हेर्नुपर्ने हुन्छ । त्यसैगरी रक्सीजन्य पदार्थका लागि भने २१ वर्ष उमेर पुगेको हुनुपर्छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको सन् २००९ को तथ्यांकअनुसार, अमेरिकामा साढे ४९ मिलियन मानिसले धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्दा रहेछन् । तीमध्ये २०.६ प्रतिसत युवा, २३.२ प्रतिसत अमेरिकी इन्डियन, २२.१ प्रतिसत गोरा, २१.३ प्रतिसत अफ्रिकन अमेरिकन, १४.५ प्रतिसत स्प्यानिस र १२ प्रतिसत एसियन अमेरिकन रहेका छन् । बृद्धबृद्धामा अत्यधिक गोराहरूले धुम्रपान र सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् । तथ्यांकअनुसार, धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगमा महिलाभन्दा पुरुष पाँच गुणा बढी रहेछन् ।

अमेरिकी क्यान्सर समाजको प्रतिवेदनअनुसार, चार लाख ४३ हजार अमेरिकीहरू फोक्सोको क्यान्सर र मुटुमा हुने आक्रमणका कारण मृत्युवरण गर्न बाध्य भएका रहेछन् । यस प्रतिवेदनले अमेरिकी युवाहरूमा बढ्दो धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगप्रति चिन्ता ब्यक्त गरेको छ । तथ्यांकअनुसार, अमेरिकामा माध्यमिक विध्यालयमा अध्ययन गर्ने २० लाख विध्यार्थीले धुम्रपान गर्ने गरेका रहेछन् । अमेरिकी क्यान्सर समाजको सन् २०१४ को प्रतिवेदनअनुसार, विद्युतीय चुरोटको प्रयोगपछि केही मात्रामा चुरोट र खैनीको प्रयोग घटेको पाइएको छ । अमेरिकी रोग रोकथाम तथा नियन्त्रण केन्द्रले जनाएअनुसार, ४२ वटा राज्यहरूमा विद्युतीय चुरोट कम उमेरकालाई बिक्री गर्न रोक लगाइएको छ । अमेरिकामा चुरोट प्रयोग सन् २०१० देखि सन् २०११ सम्म २.५ प्रतिसत घटेको छ । समग्रमा यो ०.८ प्रतिसत हो । चुरोटको प्रयोगमा कमी आए पनि अन्य सुर्तीजन्य पदार्थको प्रयोगमा बृद्धि भएकाले यसो हुन गएको हो । अमेरिकामा सन् २००७ देखि कृषि विभागले चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोगको तथ्यांक बाहिर ल्याउन दिएको छैन । विभिन्न चुरोट कम्पनीहरूका प्रतिवेदनअनुसार, सन् २००० देखि सन् २०११ सम्म चुरोटको खपत तथा बिक्री २७.७ प्रतिसत खस्किएको छ । त्यस अवधिमा ४५०.७ बिलियन बट्टा चुरोटको खपतबाट ३२६.६ बिलियन चुरोट घट्न पुग्यो । तर, यो खपतमा कमी आए पनि अन्य सुर्तीजन्य पदार्थको बिक्री एवं सेवनमा भने ३.४ देखि १०.४ प्रतिसतसम्म बृद्धि भएको छ । त्यस्तै पाइप टोबाकोमा बिक्रीमा ह्वात्तै बृद्धि अर्थात् ४८२ प्रतिसत र अन्य सुर्तीजन्य पदार्थ, तमाखु र सिगारको उत्पादन र बिक्रीमा २३३ प्रतिसतले बृद्धि हुन पुग्यो ।

अमेरिकी क्यान्सर सोसाइटीले अमेरिकामा क्यान्सरबाट मुत्यु हुनुको मुख्य कारणमा पनि धुम्रपान र खैनी नै मुख्य कारण रहेको देखाएको छ । अमेरिकी अर्बुद रोग संघका अनुसार, फोक्सोको क्यान्सर भएर मृत्यु हुनेमा धुम्रपानको ८० देखि ९० प्रतिसत भूमिका रहेको छ । धुम्रपान प्रत्यक्षरूपमै क्यान्सरको कारक त हुँदै हो, अप्रत्यक्षरूपमा अन्य क्यान्सर जन्माउनेमा यसको भूमिका ३० प्रतिसतभन्दा बढी भूमिका रहेको हुन्छ । प्यानक्रियाटिक क्यान्सर, ब्लाडर क्यान्सर, टाउको तथा घाँटीको क्यान्सर, छाला क्यान्सर, कोलोन क्यान्सर, पेटको क्यान्सर, मृगौला क्यान्सर, सरभिकल क्यान्सर, पुरुषको अण्डकोष र महिलाको पाठेघर क्यान्सर र धुम्रपान गर्ने महिलाबाट जन्मिने बच्चामा देखिने क्यान्सरमा धुम्रपानकै प्रत्यक्ष एवं अप्रत्यक्ष भूमिका रहेको अमेरिकी क्यान्सर समाजले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । अमेरिकी संघीय सरकारअन्तरगत केन्द्रीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, अमेरिकी सरकारले चुरोट उत्पादक कम्पनी एवं अमेरिकी जनताबाट करको रूपमा ठूलो धनराशि उठाए पनि धुम्रपानबाट प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा स्वास्थ्य क्षेत्रमा परिरहेको क्षतिको मूल्य चुकाइरहेको छ । अमेरिकी सरकारले झन्डै ९८ बिलियन डलर प्रत्यक्षरूपमा रोगीको उपचारमा खर्च गरिरहेको छ भने ९७ बिलियन डलर स्वास्थ्य, हेरचाह, उत्पादन र रोकथामका लागि क्षति ब्यहोरिरहेको छ । अमेरिकी जनताको दैनिक सरदर पाँचदेखि ३० डलरसम्म धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगमा खर्च हुने गरेको अमेरिकी उपभोक्ता संघले जनाएको छ ।

सन् २००८ मा अमेरिकाको सबैभन्दा ठूलो चुरोट कम्पनी फिलिप मोरिसका कार्यकारी निर्देशकले एक वर्षको तलब नै दुई करोड १६ लाख डलर बुझेका रहेछन् । भनेपछि चुरोट कम्पनीहरूका आम्दानी र मुनाफा कल्पनै गर्न नसकिने खालको छ । अमेरिकाकै अर्को प्रख्यात चुरोट न्यूपोर्ट कम्पनीले सन् २०११ मा मात्रै १.११ बिलियन बिक्री मुनाफा गर्यो भने १.८९ बिलियन सञ्चालन मुनाफा गर्यो । यस कम्पनीले एक वर्षमा मात्रै दुई बिलियन डलर नाफा गरेछ । न्यूपोर्टले सन् २०११ मा मात्रै अमेरिकी सरकारलाई ६.४६ बिलियन डलर राजश्व बुझायो । उक्त कम्पनीमा प्रत्यक्षरूपमा दुई हजार नौ सय कर्मचारी काम गर्छन् भने अप्रत्यक्ष रूपमा झन्डै ६ हजार एजेन्टहरूले काम गरिरहेका छन् । सन् १९९० मा अमेरिकाका विभिन्न राज्य सरकारहरूले चुरोट कम्पनीविरुद्ध अमेरिकी जनताको स्वास्थ्यमा खेलवाड गरेको र प्रसस्त जनधनको क्षति गराएको भन्दै केन्द्रीय अदालतमा मुद्दा हाल्यो । चुरोटबाट पीडितहरूको उपचारमा बृद्धि भइरहेको राज्य सरकारको उक्त मुद्दामा केन्द्रीय अदालतले ती चुरोट कम्पनीहरूले २५ वर्षसम्म हरेक वर्ष सम्बन्धित राज्यहरूलाई १० बिलियन डलर तिर्नुपर्ने फैसला गर्यो । जसबाट अदालतले दुई खर्ब ५० अर्ब डलर तिराइदियो । यसबाट ती चुरोट कम्पनीहरूले आफूले कमाउँदै आएको वार्षिक आम्दानीबाट तीन लाख ५० अर्व डलरबाट ठूलो हिस्सा राज्य सरकारलाई बुझाउनु परेपछि उनीहरूको आम्दानीमा चुना लाग्न थाल्यो । अमेरिकामा सस्ता चुरोटबाहेक अधिकांश चुरोटको मूल्य प्रतिबट्टा सरदर ६.६१ डलर पर्दछ । यसबाट स्वास्थ्यमा पर्ने असरको मूल्य एक बट्टाबराबर २७.६ डलर स्वास्थ्य क्षति हुने रहेछ । चुरोटको मूल्य विभिन्न राज्यअनुसार, फरक फरक छ । जस्तै, अमेरिकाको नर्थ क्यारोलिनामा मार्लबोरो र न्यूपोर्टको प्रतिबट्टा चारदेखि ६ डलरसम्म छ भने न्यूयोर्कमा यसको मूल्य १२ देखि १५ डलर र काटनको ५० देखि एक सय ४० डलरसम्म पर्न आउँछ । अमेरिकाका अधिकांश ठूला चुरोट कम्पनीहरू नर्थ क्यारोलिना राज्यमा छन् । यस कारण पनि नर्थ क्यारोलिनामा चुरोटको मूल्य अन्य राज्यको तुलनामा सस्तो छ । ठूला चुरोट कम्पनीहरू आर जे रोनल्ड (क्यामेल), लोरीलार्ड, न्यूपोर्ट सन् १८७५ देखि लिगेट ग्रुप, जे आर ग्रुप, अमेरिकन टोबाको कम्पनी नर्थ क्यारोलिनामा छ भनेको अर्को सबैभन्दा ठूलो कम्पनी मार्लबोरो फिलिप मोरिस भर्जिनियामा रहेको छ ।

यी चुरोट कम्पनीहरूले तिर्ने कर पनि डरलाग्दो छ । अमेरिकाको संघीय सरकारको आर्थिक विभाग, चुरोट कम्पनीहरूको वार्षिक प्रतिवेदन र आन्तरिक राजश्व विभागका तथ्यांकअनुसार, चुरोट कम्पनीहरूले सन् २०१२ मा १७ अर्व ६० करोड ५९ लाख तीन सय ७० डलर करवापत संघीय सरकारलाई तिरेका रहेछन् । त्यसैगरी सन् १९७७ मा तीन अर्व ६३ करोड १७ लाख आठ हजार डलर, सन् २००२ मा नौ अर्व नौ करोड, २००६ मा १५ अर्व, २००७ मा १६ अर्व राजश्व राज्य सरकारलाई बुझाएका रहेछन् । सन् १९७७ मा चुरोट कम्पनीबाट २७ करोड १५ लाख डलर, सन् २०१२ मा ८९ करोड ५६ लाख ७७ हजार डलर राज्य सरकारलाई तिरेको देखिन्छ । त्यसैगरी चुरोट कम्पनीहरूले नर्थ क्यारोलिना राज्यलाई सन् १९७७ मा २० करोड ३० लाख, सन् २०१२ मा २९ करोड ४७ लाख ५४ हजार डलर राजश्व बुझाएका रहेछन् । त्यस्तै, चुरोट कम्पनीहरूले न्यूयोर्कमा सन् १९७७ मा ३९ करोड ४४ लाख ७८ हजार, सन् २०१२ मा १६ अर्व ९६ लाख ५५ हजार डलर राजश्व बुझाएका छन् । राजश्वको यो तथ्यांकबाट के बुझिन्छ भने अमेरिकी केन्द्रीय एवं राज्य सरकारहरूले चुरोट कम्पनीहरूबाट प्राप्त गर्ने राजश्वभन्दा कैयौं गुणा रकम नागरिकको स्वास्थ्यमा खर्च गरिरहेको छ । जुन कुरा स्वयं अमेरिकी सरकारले पनि बुझेको छ । यही कारण अमेरिकी सरकारले चुरोट र खैनीलगायतका सुर्तीजन्य पदार्थमा लगाउँदै आएको करमा बृद्धि गर्दै लगिरहेको छ । जसका कारण नै मूल्यमा बृद्धि हुने र खपतमा कमी आउने विश्वास अमेरिकी सरकारले लिए पनि यसको प्रयोगमा खासै कमी आएको देखिँदैन । सरकारले प्रचार–प्रसारमा रोक, निकोटिनको मात्रामा गरिएको कडाई, कर बृद्धि, धुम्रपान गर्ने ब्यक्तिहरूलाई बीमामा कडाई र उपचारमा प्रसस्त शर्त थप्दै गइरहेको छ । अमेरिकी युवाहरू गाँजालगायतका लागूऔषधमा उन्मूख छन् । सिगारको गलत ढंगले प्रयोग भइरहेको छ । यी जेसुकै भए पनि धुम्रपानबाट एकातिर जीवन र पैसाको सत्यानाश भइरहेको छ भने अर्कोतिर समग्र मानव समुदायमा देखिएको गलत आचरण, दुव्र्यसन र प्रयोगले समाजलाई राम्रोभन्दा नराम्रोतर्फ धकेलिरहेको छ ।

प्रतिक्रिया