एकीकृत नेकपा माओवादी आन्दोलन रोकेर संविधान लेखन प्र्रक्रियामा जाने तयारीमा पुगेपछि विपक्षी मोर्चामा नरहेर अलग्गै मोर्चा बनाई आन्दोलन गर्ने तयारी गरिरहेका मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मोर्चाको भविष्य, भावी आन्दोलन र संविधान लेखन प्रक्रिया लगायतका विषयमा पत्रकार ऋषि धमलाले गरेको कुराकानी
काग्रेस, एमाले र एमाओवादी सहमतिमा संविधान जारी गर्ने निष्कर्समा पुगेका छन, तपाईहरु के गर्नु हुन्छ ?
म उहाँहरुलाई अग्रिम बधाई दिन्छु तीन दल एउटै भएकोमा । तीन दलका एकै खाले एकै समूदायका नेताहरु एकै ठाँउमा पुगेकोमा बधाई छ ।
तपाईहरु पनि सहयोगी बन्नु हुन्छ ?
हामी भनेको तीन दलका दास होईनौ । दोस्रो कुरा भनेको संविधानसभामा तीसवटा दलहरु छन । सत्ताईस वटा दलहरुलाई अलग राखेर तीन दलीय सिण्डिकेटले गरेको सहमति सबैको सहमति हुने र सबैले मान्न सक्ने अवस्था छैन । त्यसकारणले राष्ट्रिय सहमति भनेको सत्ताईस दललाई बाहिर राखेर तीन वटा दलका एकै समूदायका नेताले एउटै हितकालागि गरेको सहमति मात्रै हो । तीन दलमा बसेका को थिए, कुनै मधेसीको बसाई थिएन, जनजातीको बसाई थिएन, कुनै दलित महिला छैन । तीन दलको एउटै जातको मान्छेले जातीय स्वार्थलाई नस्लबादलाई माथि राखेर गरेको सहमति मधेसी, जनजाती, महिला, दलित र सिमान्तकृत जनताको हितमा कसरी हुन्छ ?
तीन दलमा त मधेसी, जनजाती, महिला, दलित पनि छ नि ?
त्यसो भए उनीहरुलाई किन निर्णय गर्ने निर्णायक ठाँउमा राखिन्न ? उनीहरुलाई मन्दीरमा जुत्ता चप्पल बाहिर भने जस्तै गरिन्छ । मन्दीरमा प्रवेश गर्दा मधेसी जनजातीलाई जुत्ताचप्पल जस्तै बाहिर छाडेर एकै जातका मानिसहरु बसेर यो देशमा अधिपत्य जमाउने खालका जुन क्रियाकालप हुन्छन त्यो सबैलाई स्विकार्य नहुन पनि सक्छ ।
बार्तामा नारायणकाजी श्रेष्ठ पनि हुनु हुन्थ्यो नि ?
उहाँ कौन पुछे खेसाडीका दाल भने जस्तो मात्रै हो । तीन दलीय सिण्डिकेटले विगतमा पनि संविधानसभा खाएकै हो । अहिले पनि तीन दलीय सिण्डिकेट कायमै छ । यो सिण्डिकेट प्रथाले मुलुकलाई संघीयता प्रादेशिक स्वायत्तता, पहिचान, विभेदको अन्त्य, गणतन्त्रलाई सस्थागत गर्ने, समावेशी लोकतन्त्रको दिशामा मुलुकलाई लैजाने कार्य गर्न सक्छ कि सक्दैन महत्वपूर्ण कुरा त्यही हो ।
संविधान निर्माण प्रक्रियामा तपाईहरु अवरोध सृजना गर्नु हुन्छ ?
तीन दलको सिण्डिकेटले मधेसी, जनजाती, दलित विरोधी, असमावेशी खालको परम्परागत एउटै जातको अधिपत्यलाई मुलुकमा लाद्ने एउटै वर्गको अधिपत्यलाई लाद्ने खालको संविधान बनायो भने त्यसको विरोध हुन्छ । मुलुकलाई समावेशी, संघीय गणतन्त्र नेपालको संविधान, प्रादेशिक स्वायत्ततासहितको संविधान, मधेस आन्दोलन लगायत जानजाती आन्दोलनसँग भएको सम्झौता अनुसारको संविधान निर्माण गरे त्यसलाई समर्थन पनि गर्न सक्छौ । तर मुलकुरा के हो भने सत्ताईस दललाई बाहिर राखेर तीन दलीय सिण्डिकेट मात्रैले गरेको कार्यले मुलुकलाई शान्ति स्थिरता र समृद्धि दिन सक्दैन ।
सत्ताईस दललाई जनताले पत्याएका छैन, तीन दलले जे गर्छन त्यही भईरहेको छ ?
त्यो हुनु नै दुर्भाग्य हो । विगतमा तिनिहरुले संविधानसभा खाए, मुलुकलाई भ्रष्टाचारमा डुबाईरहेका छन त्यो पनि भईरहेकै छ । नेताहरु करोडै खर्च गरेर अमेरिका, थाईलैण्ड र ईण्डोनेसियामा उपचार गराउने, एउटा नेताको खर्चमात्रै दिने हो भने जाजरकोटमा सबैको उपचार हुन्छ । त्यो पनि नगर्ने भएकै छ । कमिसन तन्त्र चलेकै छ । मुलुक दरिद्रबाट दरिद्रतम हुँदै गएकै छ । मुलुकको साधन स्रोतमा बाह्य शक्तिको प्रभाव बढाएकै छ । कुन चाँही गतिलो काम तीन दलको सिण्डिकेटले गरेको छ र ? तीन दलको सिण्डिकेटले गरेको कुनै पनि एउटा गतिलो काम छैन ।
तीन दलले संविधान लेखन प्रक्रियालाई त अगाडि बढाउन लागे नि ?
संविधान लेखन प्रक्रिया त पाँच वर्ष अघि पनि अगाडि बढाउने नै भनेका हुन नि । अहिले नेपालमा संविधान नभएको होईन, छवटा संविधान नेपालमा बनिसक्यो । सातौ बन्ने कुरा आश्चय होईन । तर के बन्ने हो त्यो महत्वपूर्ण कुरा हो ।
तपाईहरु सहमति नहोस भन्ने पक्षमा हुनु हुन्छ ?
हाम्रो पनि सहमति चाहिन्छ कि चाहिदैन ? मधेसी, जनजातीको सहमति विना यो मुलुकमा शान्ति र स्थिरता हुन सक्दैन । बनेको संविधानले थाम्दैन । सात दलले संविधान त बनाएकै हो नि त्यसलाई मधेस र जनजातीले स्विकारेनन र आगो लाग्यो । त्यस्तो संविधान नबनोस । सेण्डिकेटको नामामा मुलुकलाई बन्धक नबनाऔ । संविधान लेख्नु राम्रो काम हो । संविधान लेखिनु पर्छ बन्नु पर्छ तर त्यो संविधान सबैले अनरसिप लिने खाल्को बन्नु पर्छ ।
प्रक्रिया अगाडि बढेपछि के गर्नु हुन्छ ?
प्रक्रिया अगाडि बढ्नु हुन्न, संविधान बन्नु हुन्न भनेर कसले भनेको छ र ? संविधान लेखिनु पर्छ, संविधान बन्नु पर्छ तर सबैले स्वामित्व लिने विभेदरहित संविधान बन्नु पर्छ । जनआन्दोलन, जनयूद्ध र मधेस जनविद्रोहको भावनालाई समेट्ने गरी संविधान बन्नु पर्छ ।
नेपालीको चाहना संघीयतासहितको लोकतान्त्रिक संविधान हो नि ?
लोकतन्त्र भनेको एउटै जातीको, एउटै वर्गको प्रभुत्व, एउटै नश्लबादी चिन्तनको प्रभुत्व होईन । लोकतन्त्र भनेको विना भेदभाव सबै समूदायको अवसर र न्यायमा समानता र पहुँच हुने स्थिति हो ।
प्रचण्डसँग सम्बन्ध विग्रिएको कारणले तपाईले विरोध गर्नु भएको हो ?
सम्बन्ध बन्दै गर्छ, विग्रदै गर्छ । तपाईले भने जस्तो सम्बन्ध विग्रिएको होईन । सम्बन्ध चिसिएको छैन । गठबन्धनमा को छ भन्ने कुरा हामीलाई थाहाँ छ । सम्बन्ध बन्ने र विग्रने कुराले कुनै अर्थ राख्दैन । मुलुकमा अब बन्ने संविधानमा मधेसीको अधिकार राज्य शक्ति र सत्तामा कहाँ हुने, जनजातीको अधिकार कहाँ हुने, महिलाको अधिकार कहाँ हुने, दलितको अधिकार कहाँ हुने, अल्पसंख्यक सिमान्तकृतको अधिकार कहाँ हुने ? त्यसले निर्धारण हुन्छ के हुने भन्ने । अहिलेको बहस नीति र विचारको हो ।
तपाईले नै प्रचण्डको दोधारे चरित्रको कारण गठबन्धन टु्टयो भन्नु भएको थियो ?
निश्चित रुपमा । यो काम एक वर्ष अघि , छ महिना अघि गरेको भए नेपाली जनताले संविधान पाउने थिए । यो दोधारे कुरा हो । नीतिगत कुराको आलोचना हुन सक्छ । बैचारिक कुरामा विवाद हुन सक्छ तर ब्यक्तिगत सम्बन्ध विग्रियो र यस्तो भयो भन्ने तर्क नगरौ ।
नयाँ मोर्चा बनाउने तयारीमा हुनु हुन्छ ?
त्यस विषयमा अहिले मैले सोचेको छैन । आवश्यकता पर्यो भने मोर्चा बन्न पनि सक्छ । मोर्चा त बन्दै गर्छ, अघि बढ्दै जान्छ । तर मुल कुरा भनेको कस्तो संविधान बनाउने, त्यसको भागिदारी र स्वामित्व सबैले लिन सक्ने संविधान बन्छ कि बन्दैन ? के संविधान एउटै जात र वर्गको हितको लागि मात्रै बन्ने हो कि ? भन्ने आशंका ठूलो छ नेपालमा । र त्यसले नै भविष्यलाई निर्धारण गर्छ ।
बैशाख १० गतेको संविधानसभाको बैठकमा जानु हुन्छ कि जानु हुन्न ?
किन नजाने, हामीले संविधानसभा बहिस्कार गरेका छौ र ? हामीले आन्दोलनका कार्यक्रम राख्दाखेरी संविधानसभामा नगएको हो । हामीले बहिस्कार गरेको छैन ।
तपाई तीन पार्टीसँग एकता गर्दै हुनु हुन्छ रे नि ?
त्यस विषयमा कुराकानी भएका छन । अहिले कुनै मुर्त रुप लिएको छैन ।
प्रतिक्रिया