आइतबार, मंसिर १४ २०७७
काठमाडौं २३:००
वासिङटन डिसी 12:15

श्रम बैंकको स्थापना गरिने: राज्यमन्त्री गुरुङ

इनेप्लिज २०७२ वैशाख ११ गते ११:०० मा प्रकाशित

Tek-bahadur-gurungकाठमाडौँ, ११ वैशाख । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले श्रमका लागि विदेश जाने मजदुरलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यले श्रम मन्त्रालयले श्रम बैंकको स्थापना गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ ।

प्रभाव राष्ट्रिय दैनिकको प्रथम वार्षिकोत्सवका अवसरमा राज्यमन्त्री गुरुङले नेपालमा रोजगारीको अवसर थोरै भएकाले मानिसहरु रोजगारीको खोजीका सिलसिलामा विदेश भौँतारिनुपर्ने वाध्यता रहेको बताउँदै उनीहरुले पठाएको वार्षिक २८ करोड रेमिट्यान्सले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको स्मरण गर्नुभयो । कामदार र व्यवसायीको हित अनुकूल श्रम ऐनमा सुधार गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले देश र समाजलाई परिवर्तन गर्न सक्ने क्षमता भएको सञ्चारमाध्यमले जनतालाई प्रभावकारी रुपमा सत्यतथ्य सुसूचित गर्नु आवश्यकतामा जोड दिनुभयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङले सरकारले विदेशमा गएर रगत पसिना बगाउने श्रमिकको सुरक्षामा खासै चासो दिन नसक्दा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति रहेको चर्चा गर्नुभयो ।

वैदेशिक रोजगार सङ्घका अध्यक्ष हंसराज वाग्ले, वैदेशिक रोजगार व्यवसायी ईन्द्रलाल तामाङले विदेशी पैसा भित्रिने मुख्य स्रोत वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

सो पब्लिकेसनका अध्यक्ष दुर्गाबहादुर लिम्बूले वैदेशिक रोजगारीको क्षेत्रलाई केन्द्रित गरी पत्रिका प्रकाशन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया