अठतीस वर्षपछि घर फिर्ता

इनेप्लिज २०७२ वैशाख १० गते ८:५३ मा प्रकाशित

ilam_nepal_mapइलाम, १० वैशाख । इभाङका एक व्यक्ति हराएको ३८ वर्षपछि पुनः घर फर्किएका छन् ।

इभाङ–६, यामप्रसाद लिम्बू चार दशकपछि घर फर्किएपछि परिवारमा हर्षाेल्लास छाएको छ । सानैदेखि खसीबाख्राको व्यापार गर्ने लिम्बू व्यापार व्यवसाय गर्दागर्दै २०३४ सालदेखि हराएका थिए । उनी घर फर्किएको थाहा पाएपछि गाउँले, छिमेकी र आफन्तको उनलाई भेट्न घरमा घुइँचो लागेको छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका कान्छा छोरा अग्निप्रसादसमेत बाबु घर फर्किएको खबर पाएपछि बिदा मिलाएर आएका छन् । “यतिका वर्षसम्म घर नआएका बाबु जीवित हुनुहुन्छ भन्ने कमैमात्र आशा थियो” अग्निप्रसाद भन्छन्, “घर आएको सुनेपछि तत्काल बिदा मिलाएर आएँ ।”

यामप्रसाद यतिबेला जीवनकै सबैभन्दा खुसीको महसुस भइरहेको बताउँछन् । म जीवित नै छु भन्ने परिवारलाई आश्वस्त पार्न घर आएको उहाँले बताउनुभयो । घर छाड्दा ३७ वर्षका लिम्बू फर्कंदा ७५ वर्षीय भएका छन् । सुरुमा परिवारका सदस्यले समेत उनलाई चिनेनन् ।

लामो समय बेपत्ता लिम्बू भारतको आसाममा बस्दै आएका थिए । खोटाङका एक तामाङ जातिका साथीसँग सामान्य व्यवसाय गरेर बसेका उनी यसअघि पनि घर फर्कन धेरै प्रयास गरे पनि गाडीभाडा नभएकै कारण आउन नसकेको बताउँछन् । साथीहरुसँगको लहैलहैमा भारत पसेका लिम्बूले त्यहाँ सामान्य खेतीपाती र ससानो व्यापार गर्दै आएका थिए ।

प्रतिक्रिया