चित्रवन नगरपालिकाको भवन शिलान्यास

इनेप्लिज २०७२ वैशाख ९ गते ८:५२ मा प्रकाशित

Chitwan_district_locationचितवन, ९ वैशाख । चित्रवन नगरपालिकाले निर्माण गर्न लागेको कार्यालय भवनको आज सभासद् रामकृष्ण घिमिरेले शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा उहाँले नगरपालिकालाई नमुना बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा कार्यकारी अधिकृत रामचन्द्र अर्यालले भवनको पहिलो तल्ला यही असार मसान्तभित्र सम्पन्न गर्नेगरी मूल्य अभिवृद्धिकरबाहेक ७६ लाख रुपैयाँमा केबिसी र विश्वास कन्स्ट्रक्सनले ठेक्का पाएको बताउनुभयो ।

भवनको पहिलो तल्लामा आठवटा कोठा रहनेछन् । चारतले भवन सम्पन्न गर्न बहुवर्षीय ठेक्का स्वीकृतिका लागि मन्त्रालयसँग माग गरिएको उहाँले सो अवसरमा जानकारी दिनुभयो । भवन सम्पन्न गर्न पाँच करोड ६४ लाख ३१ हजार १०४ रुपैयाँ लाग्ने अनुमान नगरपालिकाको छ । नगरपालिकाको आठ नम्बर वडाको नयाँ बजारमा रहेको सार्वजनिक जग्गामा भवनको शिलान्यास गरिएको हो ।

सो नगरपालिकाले फोहरमैला व्यवस्थापन, फूलैफूलको नगरपालिका, हरियो नगरपालिका र सफा नगरपालिका भन्ने अभियानका साथ काम गरिरहेको जनाएको छ । पश्चिम चितवनमा २०७१ वैशाख २५ गते सो नगरपालिका घोषणा भएको हो ।

प्रतिक्रिया