प्यूठानमा पहिलो पटक पञ्जीकरण अभियान सुरु

इनेप्लिज २०७२ वैशाख ९ गते ३:५९ मा प्रकाशित

प्यूठान, ९ वैशाख । यहाँ पहिलो पटक जिल्लाव्यापी पञ्जीकरण अभियान सुरु गरिएको छ ।

जिल्लाका ४२ वटा गाविस र एक नगरपालिकामा एकै साथ बालमैत्री शासन अवलम्बन गर्ने उद्देश्यले पञ्जीकरण अभियान सुरु गरिएको जिल्ला विकास समिति प्यूठानले जनाएको छ । “बालमैत्री शासनमा सघाउ पुग्ने गरी पञ्जीकरण अभियान सुरु भएको हो ।” जिल्ला विकास समितिका सूचना अधिकृत लक्ष्मण आचार्यले भन्नुभयो– “बालमैत्री शासनको सूचकको रुपमा रहेको जन्मदर्तालाई पञ्जीकरण अभियानले पहिलो प्राथमिकतामा राखेको छ ।”

बालबालिकाको पहिलो अधिकारका रुपमा रहेको जन्मदर्ता जिल्लामा चेतनाको कमीले गर्दा अधिकांशले नगर्ने गरेको जिविसको तथ्याङ्कमा उल्लेख छ । “भिङ्गृ गाविसलाई केन्द्रित गरी यस वर्ष २० वटा गाविसमा बालमैत्री शासन कार्यक्रम सञ्चालन गरेका छौँ ।”सूचना अधिकृत आचार्यले भन्नुभयो– “जिल्लामा जन्मदर्ता गराउनेको सङ्ख्या न्यून देखिएको छ । त्यसमा सुधार लिई शतप्रतिशत पुराउने हाम्रो लक्ष्य हो ।”

जिल्लामा सञ्चालन गरिएको अभियानअन्तर्गत हालसम्म बाङ्गेशाल, तिराम, बिजुली र सारी गाविसमा जन्मदर्ता अभियान सम्पन्न भइसकेको छ । त्यस्तै बाँकी रहेका क्षेत्रमा अभियान सञ्चालन भइरहेको र केही स्थानमा परामर्श तथा प्रशिक्षण पनि सुरु भएको जिविस प्यूठानले जनाएको छ ।

नेपालमा हाल जन्मदर्ताको अभिलेख राख्ने दर ५८ प्रतिशत रहेको छ । त्यस्तै जनगणना २०६८ अनुसार प्यूठानमा यसको दर नेपालको तुलनामा झन न्यून देखिएको छ । प्यूठानमा जन्मदर्ताको अभिलेख राख्ने दर ४२ प्रतिशत मात्रै रहेको जनगणनाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

अभियानमा गाविस सचिव, सामाजिक परिचालक तथा प्राविधि र विभिन्न क्षेत्रबाट कर्मचारी खटाएको जिविसले जनाएको छ । बालमैत्री शासनमा सहयोग पुगोस् भन्दै जिल्लामा सञ्चालन गरिएको यो पहिलो अभियान हो ।

प्रतिक्रिया