वार्ताबाट द्वन्द्व समाधान गर्न चितवनमा संवाद मञ्चको गठन

इनेप्लिज २०७२ वैशाख ८ गते ८:५७ मा प्रकाशित

Chitwan_district_locationचितवन, ८ वैशाख । जिल्लामा विद्यमान विभिन्न द्वन्द्वलाई वार्ताका माध्यमबाट समाधान गर्दै समृद्ध चितवन निर्माण गर्ने उद्देश्यले संवाद मञ्च, चितवनको गठन गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घ, द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत मध्यमाञ्चल क्षेत्रीय कार्यालयको सक्रियता र चितवनका प्रमुख राजनीतिक दल, नागरिक समाज एवम् जिल्लास्थित महिला सञ्जालका प्रतिनिधिहरुको समन्वयमा संवाद मञ्च गठन गरिएको क्षेत्रीय संयोजक भाष्कर काफ्लेले जानकारी दिनुभयो ।

पूर्व प्राध्यापक डा ईश्वरीप्रसाद लौडारीको संयोजकत्वमा २३ सदस्यीय संवाद मञ्चको गठन गरिएको हो । चितवनका राजनीतिक दल, प्रशासनिक निकाय, सामाजिक कार्यकर्ता, सञ्चारकर्मी, कानुन व्यवसायी, मानव अधिकारकर्मी, महिला अगुवा, शिक्षासेवीसहित सामाजिक अध्येताहरुको मञ्चमा सहभागिता रहेको छ ।

मञ्चको सचिवालय व्यवस्थापनका लागि हाल नेपाल पत्रकार महासङ्घ, चितवनलाई जिम्मा दिइएको छ । सचिवालयमा संयोजक लौडारीसहित शिक्षाविद् रमाकान्त सापकोटा, शान्ति समितिका संयोजक तेजेन्द्रबहादुर खड्का, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष चुडामणि सापकोटा रहनुभएको छ ।

समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्ने अभियानसहित संवाद मञ्चको गतिविधि अगाडि बढाइने संयोजक लौडारीले जानकारी दिनुभयो । चितवनका सम्भावित विवादको सन्दर्भ परिस्थितिको अध्ययन विश्लेषण गर्ने, सम्भावित विवाद रोकथाम गर्ने, शान्ति सहकार्यका लागि सहजीकरण सीप विकास गर्ने, विवादरहित सुसंस्कृत समाज निर्माणका लागि सहकार्य गर्नेलगायतका उद्देश्य संवाद मञ्च चितवनको रहेको छ ।

प्रतिक्रिया