बाराको पिलुवा नजिक रात्रिबस दुर्घटना हुँदा तीनजनाको मृत्यु, सोह्र जना घाइते

इनेप्लिज २०७२ वैशाख ८ गते ८:५५ मा प्रकाशित

accidentवीरगन्ज (पर्सा), ८ वैशाख । काठमाडौँबाट सर्लाही जिल्लाको मलङ्गवाका लागि छुटेको यात्रुबाहक रात्रिबस गएराति दुर्घटना ग्रस्त हुँदा तीन जना यात्रुहरुको मृत्यु भएको छ ।

मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार काठमाडौँबाट हिँडेको ना ४ ख ४५१६ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पिलुवा नजिकै दुर्घटनाग्रस्त भएको हो । यात्रुहरुका अनुसार बस सञ्चालन गर्ने चालक निदाएका कारण सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सर्लाहीको ब्रह्मपुरी गाविसका ४५ वर्षीय अखिल गिरी र उनकी पत्नी भवानी गिरीको घटनास्थलमा नै ज्यान गएकोे थियो भने गम्भीर घाइते भएका सर्लाहीकै लक्ष्मी पासवानलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याउँदैगर्दा ज्यान गएको थियो ।
सो दुर्घटनामा परी अन्य १६ जना घाइते भएका मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिनुभयो । उहाँले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि जानकारी दिनुभयो ।

घाइते चार जनाको सिमरा अस्पतालमा र बाँकीको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएका कारण दुर्घटना भएको बसमा सवार यात्रुहरुले नै बताएका छन् । बसमा निदाएका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया