पोखरेलीले गुणस्तरीय खानेपानी पाउने

इनेप्लिज २०७२ वैशाख ८ गते २:२० मा प्रकाशित

वासुदेव मिश्र

Drinking-Waterकास्की, ८ वैशाख । पर्यटकीय नगरी पोखराका बासिन्दाले आउँदो ३ वर्षभित्र विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ) ले निर्धारण गरेअनुरुप गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने भएका छन् ।

पोखराको खानेपानी परियोजना सुदृढीकरणका लागि जापानी सहयोग नियोग (जाइका)ले करिब रु तीन अर्ब सहयोग गरेपछि पोखरेलीले शुद्ध खानेपानी पाउने भएका हुन् । जाइकाले पोखराको खानेपानी परियोजनाको सुदृढीकरण, विस्तार र शुद्धीकरणका लागि दुई करोड ९० लाख अमेरिकी डलर अनुदान सहयोग गरेको छ ।

सहयोग सम्झौतामा जाइकाका सल्लाहकार मात्सु मोटो र सहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र देवकोटाले चैतको अन्तिम साता हस्ताक्षर गरेपछि पोखराको खानेपानी सुदृढीकरणको काम थालिएको नेपाल खानेपानी संस्थानका अध्यक्ष डा परमेश्वर पौडेलले जानकारी दिनुभयो ।

“जाइकाले जापानकै एनजेएस कन्सल्ट्यान्स कम्पनीलाई परियोजनाको विस्तृत अध्ययनको जिम्मा दिएपछि कम्पनीले अध्ययन सुरु गरेको छ”–उहाँले भन्नुभयो–“करिब नौ महिनाभित्र परियोजना कस्तो बन्ने भन्ने टुङ्गो लाग्छ ।” अहिले पोखरादेखि ११ किलोमिटर उत्तरतिर रहेको मर्दी खोलाबाट ल्याइएको पानी सोझै पोखरेलीको धारामा पुग्ने गरेको छ । खानेपानी संस्थान पोखराले यहाँको विन्ध्यवासिनीमा रहेको पानी सङ्कलन केन्द्रमा क्लोरिन हालेर पानी शुद्धीकरणको औपचारिकता पूरा गर्ने गरेको छ ।

पानी शुद्धीकरणको यो सामान्य प्रक्रियाले बर्खायाममा धारामा धमिलो र लेदो मिसिएको पानी आउने समस्या समाधान हुन सक्दैन । “दुःखका साथ भन्नुपर्छ, हामीकहाँ पानी शुद्धीकरणको अर्को विकल्प छैन”–खानेपानी संस्थानका अध्यक्ष पौडेलले भन्नुभयो–“बर्खायाममा धारामा धमिलो पानी आउने समस्या निराकरण गर्ने हामी असमर्थ छौँ ।”

उहाँका अनुसार अबको परियोजना सम्पन्न हुँदा भने पोखरेलीको धारामा आउने पानी प्रशोधित मिनिरल वाटर जस्तै हुनेछ । खानेपानी शुद्ध गर्नका लागि जीवाणु मार्न औषधि हाल्ने लगायतका सबै तरिका अवलम्बन गरिने छ । त्यसका लागि रिजर्रभ्यायर (पानी सङ्कलन ट्याङ्की) निर्माणको काम थालिने उहाँले बताउनुभयो । ट्याङ्की चार करोड १० लाख लिटर क्षमताको हुनेछ ।

परियोजनाको विस्तृत सर्वेक्षण गरिरहेको एनजेएस कन्सल्ट्यान्स कम्पनीले पोखराका पाँच ठाउँमा थप पानी सङ्कलन ट्याङ्की निर्माणको प्रस्ताव गरेको नेपाल खानेपानी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख दीनेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । अहिले पोखरामा मर्दीखोलाबाट दैनिक तीन करोड लिटर, पोखराको पुरानो पानी आपूर्तिस्थल बालधाराबाट चार लाख लिटर, भोटीखोलाबाट साढे दुई लाख लिटर पानी आपूर्ति हुँदै आएको छ ।

यादवका अनुसार पोखरामा दैनिक साढे चार करोेड लिटर पानीको माग छ । चार करोड लिटर पानी दैनिक आपूर्ति हुँदै आए पनि खानेपानी लाइनको विस्तार हुन नसक्दा त्यो पानी बिन्ध्यवासिनीमा रहेको ट्याङ्कीबाटै खेर जाने गरेको उहाँले स्वीकार्नुभयो । हाल पोखरामा दैनिक साढे तीन करोड लिटर पानी वितरण हुँदै आएको छ । मर्दीबाट चार भागको एक भाग मात्र पानी पोखरा ल्याइएकाले पोखरालाई पानीको स्रोतको भने अभाव नभएको उहाँले बताउनुभयो ।

पोखरामा १९७७ सालदेखि नै योजनाबद्ध रुपले खानेपानी वितरणको थालनी भएको हो । पोखराका बडाहाकिम बबरशमशेरले बाल्यकालमै बितेका आफ्ना छोरा बालशमशेरको सम्झनामा सराङकोटको पुछारमा रहेको मूलको पानी पोखराको विभिन्न ठाउँमा वितरण गरेका थिए । पोखरामा आधुनिक रुपले खानेपानी परियोजना भने २०४४ सालमा मर्दीबाट १६ इन्चको पाइपमा पानी ल्याएर सुरु भएको हो । जाइकाकै रु १३ करोड ५० लाखको सहयोगमा २०६८ सालमा १६ इन्चको सट्टामा २० इन्चको पाइप हाली बिन्ध्यवासिनीसम्म पानी ल्याए पनि वितरण पाइप नहुँदा अहिले पनि पानी खेर गइरहेको छ ।

जाइकाले दोस्रो चरणमा सहयोग दिने भएपछि खानेपानी संस्थानले अब बिन्ध्यवासिनीदेखि जिरो किलोमिटर हुँदै अमरसिँहचोकसम्म २० इन्चको पाइप लाइन विस्तार गर्ने, त्यहाँबाट अन्य ठाउँमा आवश्यकता हेरी १० इन्च र ६ इन्चको पाइपलाइन विस्तार गरी पानी आपूर्ति गर्ने योजना बनाएको खानेपानी संस्थानका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । जापानी सहयोगको अलावा खानेपानी संस्थानले आफ्नै आन्तरिक स्रोत र सरकारसँग रु २२ करोड ऋण मागिएकाले पनि खानेपानी आपूर्तिको काम सहज ढङ्गले अगाडि बढ्ने उहाँको भनाइ छ ।

विस्तारित पोखरा उपमहानगरपालिकाको क्षेत्रफल २२५.६९ वर्गकिलोमिटर छ भने सन् २०११ को केन्द्रीय तथ्याङ्क विभागको जनगणनाअनुरुप तीन लाख १३ हजार ८४१ जनसङ्ख्या एवम् ८२ हजार २७६ घरधुरी रहेका छन् । पोखरा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेका अनुसार आपूर्ति व्यवस्था सुदृढ नहुँदा नगरका सबै वडामा बस्ने बासिन्दाले सहज खानेपानी पाएका छैनन् ।

प्रतिक्रिया