नासा र आन्माको एघारौं सम्मेलन सेप्टेम्बरमा नर्थ क्यारोलिनमा हुने

इनेप्लिज २०७२ वैशाख ८ गते १:०३ मा प्रकाशित

ct pic 6नर्थ क्यारोलिना – अमेरिकाको उत्तर–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका दुई संगठनको एघारौं संयुक्त सम्मेलन आउँदो सेप्टेम्बरमा हुने भएको छ । अमेरिकाको उत्तर–पूर्वी राज्यहरूमा रहेका नेपालीहरूको प्रतिनिधिमूलक र सशक्त संगठनका रूपमा क्रियाशील संगठन नासा र आन्माले सेप्टेम्बर ५, ६ र ७ मा भब्य रूपमा संयुक्त सम्मेलन गर्न लागेका हुन्।

विगत लामो समयदेखि हरेक वर्ष गर्दै आएको यो सम्मेलन यस पटक नर्थ क्यारोलिना राज्यको हाई प्वाइन्ट सिटीस्थित होटल एम्बेसी स्विटमा हुने भएको छ । हालै हाइ प्वाइन्टमा भएको कार्यक्रममा नासा र आन्माका पदाधिकारीबीच संयुक्त सम्मेलन गर्ने समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

नासा र आन्माले यसअघि आपसी समझदारीमै संयुक्त सम्मेलन गर्दै आएकोमा कार्यक्रमलाई थप विशिष्ट र प्रभावकारीरूपमा सम्पन्न गर्न औपचारिक रूपमा समझदारीपत्र बनाएर हस्ताक्षर गरिएको हो । कार्यक्रममा समझदारीपत्रमा एन्माका अध्यक्ष सुशील शर्मा र नासाका अध्यक्ष डा.रामचन्द्र बरालले हस्ताक्षर गर्नुभएको थियो।

अमेरिकामा रहेका नेपालीहरूका विभिन्न संगठनहरूमध्ये नासा र आन्माको संयुक्त कार्यक्रमलाई निकै पृथक र ब्यवस्थित मानिँदै आएको छ । एन्माका अध्यक्ष शर्मा र नासाका अध्यक्ष डा.बरालले आउँदो एघारौं सम्मेलन थप ब्यवस्थित र प्रभावकारी बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रम आयोजकका रूपमा हाइ प्वाइन्ट र ग्रिन्सबोरोस्थित नेपालीहरूको एकमात्र प्रतिनिनिमूलक संस्था टीएनसीसी र सह–आयोजकका रूपमा नर्थ क्यारोलिनाको राजधानी र्यालेस्थित नेपालीहरूको संस्था एनसीएनसी रहेको छ।

कार्यक्रममा आयोजक संस्था टीएनसीसीका अध्यक्ष नारायण खड्का र सह–आयोजक संस्था एनसीएनसीका अध्यक्ष ठाकुर कार्कीले स्थानीयस्तरमा यति ठूलो कार्यक्रम गर्ने अवसर पाएकोमा खुसी ब्यक्त गर्दै सफल पार्न सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रम सफल बनाउन माधव ढकालको संयोजकत्वमा सम्मेलन आयोजक मूल समिति गठन गरिएको छ । मूल समितिको मातहतमा स्थानीय स्तरमा विभिन्न समितिहरू पनि गठन गरिएका छन् । कार्यक्रममा सम्मेलन आयोजक मूल समितिका संयोजक ढकालले सहमतिपत्रमा हस्ताक्षरपछि सम्मेलनको तयारीका लागि आफूहरूलाई थप उर्जा र हौसला मिलेको बताउनुभयो।

उहाँले कार्यक्रमलाई ऐतिहासिक र अविष्मरणीय बनाउने प्रतिवद्धता पनि जनाउनुभयो । त्यसैगरी कार्यक्रममा उपस्थित नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का उपाध्यक्ष शिब बिष्टले नासा र आन्माको संयुक्त सम्मेलनलाई विगतदेखि नै आफूले नजिकबाट नियालिरहेको स्मरण गराउँदै यसअघिका कार्यक्रम निकै ब्यवस्थित, प्रभावकारी र विवादरहित हुने गरेकामा प्रसंसा गर्नुभयो।

उहाँले आगामी कार्यक्रम पनि विगतमा जस्तै ब्यवस्थित र प्रभावकारी बनाउन नेजाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पत्रकार बिष्ट सम्मेलनको मिडिया संयोजक पनि हुनुहुन्छ । उहाँको संयोजकत्वमा तीन सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको छ।

यसअघि नासा र आन्माको छैठौं सम्मेलन सन् २०१० मा केन्टकीमा, सातौं सम्मेलन सन् २०११ मा जर्जियामा, आठौं सम्मेलन सन् २०१२ मा इन्डियानामा, नवौं सम्मेलन सन् २०१३ मा साउथ क्यारोलिनामा र दसौं सम्मेलन २०१४ मा कोलोराडोमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया