पानी नपाएर चुरे क्षेत्रका सर्वसाधारणलाई सास्ती

इनेप्लिज २०७२ वैशाख ७ गते १२:२१ मा प्रकाशित

nepal_newschure-aankhadotcomरौतहट, ७ वैशाख । यस जिल्लाको उत्तरी भेगका विभिन्न स्थानमा गर्मीयामको सुरुवातसँगै खानेपानीको मुहान तथा धारा सुक्न थालेको छ ।

बर्सेनि गर्मीयामको समयमा खानेपानीको अभाव हुन थालेपछि चुरेक्षेत्र आसपासका बासिन्दा वैकल्पिक उपाय के अपनाउने भन्नेबारेमा अन्योलमा पर्दै आएका छन् ।

चुरे फेदीका विभिन्न गाउँमा गर्मीसँगै ट्युबवेलसमेत सुक्न थालेको छ भने गाईबस्तुलाई समेत कहाँ लगेर पानी खुवाउने भन्ने चिन्ता त्यहाँका कृषकलाई भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिकाको गैँडाटार, पौराइ, भोलनटार, जुडिवेला, ब्रह्मस्थान, हिलेखोलालगायतका क्षेत्रमा स्वच्छ खानेपानीको अभाव भएको त्यहाँका बासिन्दाको भनाइ छ । चुरे फेदीमा रहेको खानेपानीका मुहान सुक्नुका साथै ट्युबवेलमा समेत पानी आउन छाडेपछि गाउँभन्दा धेरै टाढाको जरुवा पानी ल्याएर खानुपर्ने बाध्यता रहेको गैँडाटारका स्थानीय युवा जितेन्द्र धामीले बताउनुभयो ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ओभर ट्याङ्की निर्माणको टेण्डर प्रक्रिया ढिला सुरु गरेका कारण यो वर्ष गैँडाटार क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानी पाउन कठिनाइ भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरि आचार्यले बताउनुभयो ।

गत वर्ष सो क्षेत्रमा दूषित पानीका कारण हैजा फैलिएपछि एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया