मेलम्ची, ७ वैशाख । क्रसरले खनेको खाल्डोमा परेर सिन्धुपाल्चोकमा एक महिलाको आइतबार ज्यान गयो । आमाको मुख हेरेर माइतीबाट फर्कंदै गरेकी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ फटकशीला काफलचौरका ५० वर्षीया सानुकान्छी माझीको खाल्टोमा परेर ज्यान गएको हो ।
मेलम्ची फड्केश्वरी इन्द्रावती स्टोन प्रालिले खनेको खाल्डोमा परेर माझीको ज्यान गएको हो ।
सोही क्रसरले खनेको खाल्डोमा परी गत वर्ष पनि शिखरपुरका एक दलितको ज्यान गएको थियो । बर्सेनि क्रसरले खनेको खाल्डोमा परी अकालमा ज्यान गएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
मेलम्ची बजारदेखि सिपाघाटसम्म ११ वटा क्रसर रहेका छन् । जथाभावी रुपमा नियम विपरीत क्रसरले नदीको गिट्टी बालुवा झिक्ने गरेको र यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिले कुनै चासो नदिएको स्थानीय जनताको आरोप छ ।
यहाँ रहेका क्रसरले नदीबाट गिट्टी बालुवा निकाल्दा नदी गहिरिनुका साथै यस क्षेत्रमा रहेको सयौँ रोपनी खेत बाँझो हुने अवस्थामा पुगेको स्थानीय किशोर विद्याधरले बताउनुभयो । नदी गहिरिएर पानी लगाउन नसकिने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।
इन्द्रावती नदी बगर फाँटमा खाल्डैखाल्डो रहेको छ । तीन वर्षअघिमात्रै मेलम्ची खानेपानी आयोजनाले कालोपत्र गरेको यो सडक अहिले यातायात आवतजावत गर्नसमेत कठिन बन्दै गएको छ ।
काभ्रेको जिरोकिलोबाट मेलम्चीसम्म कालोपत्र भएको सडक अहिले क्रसर र अत्यधिक भारयुक्त टिपरका कारण कालोपत्रको भग्नावशेषमात्र देख्न सकिन्छ ।
सार्वजनिक स्थाल, वन, बस्ती र बाटो नजिक उत्खनन् गर्न नपाइने नियम रहेको छ तर पनि नियमलाई अटेर गर्दै अधिकांश क्रसर उद्योग बस्ती, खोला र जङ्गलनजिकै सञ्चालित छन् । तिनले वातावरण विनासमात्र होइन, ध्वनि र वायु प्रदूषण पनि गरिरहेका छन् ।
इन्द्रावती नदीमा सञ्चालित क्रसर उद्योगले निर्वाध रूपमा स्काभेटर प्रयोग गरी ढुङ्गा र बालुवा निकाल्दै आएको छ । खोलाबाट सोझै ट्रकमा राखेर त्यसलाई प्रशोधनस्थलसम्म लगिन्छ । क्रसर उद्योगले बदमासी गरेको जानकारी भए पनि कारबाही भने अहिलेसम्म नगरेको स्थानीयवासी बताउँछन् ।
प्रतिक्रिया