दुव्र्यसनी सेवा केन्द्रनिर्माणका लागि सहयोगको ओइरो लाग्दै

इनेप्लिज २०७२ वैशाख ७ गते ४:०८ मा प्रकाशित

इटहरी, ७ वैशाख । लागुऔषध दुव्र्यसनीका लागि आवासीय उपचार सेवा केन्द्रका रुपमा पूर्वाञ्चलको धरान–२३ पानबारीमा निर्माण गरिने आसार सेवा केन्द्र भवन निर्माणका लागि धरान तथा आसपासका समाजसेवीबाट सहयोग दिनेको ओइरो लाग्न थालेको छ ।

समाजसेवी रामहरी हाँडाबाट प्राप्त डेढ कट्ठा तथा पानबारी सामुदायिक वनबाट प्राप्त गरी कुल साढे आठ कट्ठा जमिनको क्षेत्रमा झन्डै २०० जना लागुऔषध दुव्र्यसनीलाई आवासीय सेवासहित पुनः स्थापना अभियान चलाउने उद्देश्यका साथ पूर्वाञ्चल क्षेत्रस्तरीय आसार सेवा केन्द्र सञ्चालनमा ल्याउने अभियान थालिएको हो ।

करिब चार करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने अनुमान गरिएको आसार सेवा केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि सरकारबाट आर्थिक सहयोग प्राप्त नहुने भएकाले स्थानीयवासी र सहयोगदाताबाट रकम जम्मा गर्ने अभियान थालिएको निर्माण समितिका अध्यक्ष तथा धरान नगरपालिकाका पूर्व प्रमुख मनोजकुमार मेयाङ्ग्वोले बताउनुभयो ।

पूर्व क्षेत्रीय प्रहरीनायब महानिरीक्षक माधवप्रसाद जोशीको उपस्थितिमा धरानको सिद्धि नेवा परिषद्मा आयोजित जानकारी सभामा आसार सेवा केन्द्र भवनको भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्ने दानवीरले तँँछाडमछाड गरेर आर्थिक सहयोग दिनेको ओइरो नै लाग्यो ।

भवन निर्माणका लागि राज्यका तर्फबाट कुनै सहयोग नआउने विषयमा प्रहरीनायब उपरीक्षक सञ्जयसिँह थापाले भेलामा सहभागीलाई अवगत गराएर आसार सेवा केन्द्र भवन निर्माणका लागि इलाका प्रहरी कार्यालय इटहरीले यसअघि नै डेढ लाख रुपैयाँको जोहो भइसकेको जानकारी दिनुभएपछि सो भेलामा सहभागी भएकाहरुमा सहयोग गर्न बोलकबोल नै भएको थियो ।

त्यसक्रममा सबैभन्दा बढी धरान–१५ की सरोज राईले रु दुई लाख र अग्रज सञ्चारकर्मी हर्ष सुब्बाले समेत १० हजार रुपैयाँ नगद सहयोग गर्ने वचन दिनुभएको थियो ।

सेवा केन्द्र निर्माणका लागि यसअघि नै इटहरीका व्यवसायी भीम पौडेलले रु पाँच लाख, निर्माण व्यवसायी सङ्घ सुनसरीले रु एक लाख ११ हजार, निर्माण समितिका अध्यक्ष मनोजकुमार मेयाङ्ग्वोले रु एक लाख, ताप्लेजुङ सुनसरी सरोकार समाजले रु एक लाख र घण्टाघर व्यवस्थापन समितिले रु एक लाख दिने घोषणा गरिसक्नुभएको छ ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा लगायलते पनि धरानको परिचय नै विकास निर्माणजस्ता पवित्र कार्यमा मन खोलेर सहयोग गर्ने परम्परा नै हो भन्नुभयो । नेपाल प्रहरीले यसअघि नै २०५४ सालबाट राजधानी काठमाडाँैमा आसार सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया