दामोदरकुण्ड जाने बाटो जीर्ण हुँदा…

इनेप्लिज २०७२ वैशाख ६ गते ३:०३ मा प्रकाशित

मुस्ताङ, ७ वैशाख । धार्मिकस्थल दामोदरकुण्ड जाने बाटो जीर्ण हुँदा यस याममा त्यहाँ जाने भक्तजनको सङ्ख्यामा कमी आएको छ ।

सुर्खाङ गाविसमा पर्ने प्रसिद्ध तीर्थस्थल दामोदरकुण्ड पुग्न जिल्ला सदरमुकाम जोमसोमबाट छ दिन लाग्छ । सुर्खाङको अन्तिम बस्ती घारादेखि दामोदरकुण्डसम्म बाटो जीर्ण हुँदा एकदमै कम भक्तजन आएको स्थानीयवासी फुर्वा गुरुङले बताउनुभयो ।

घारादेखि दामोदरकुण्ड पुग्न दुई दिन लाग्छ । “यो याममा मुक्तिनाथलगायत क्षेत्रमा थुप्रै भक्तजन आएका छन् तर कोही पनि यता आउन सकेका छैनन्, यस विषयमा हामीले जिविसमा पनि माग गरेका हौँ”–उहाँले भन्नुभयो–“स्थानीयस्तरबाट सडक मर्मत सम्भव छैन ।”

अन्य समयमा अत्यधिक हिमपात हुने हुँदा वैशाखदेखि भदौसम्म दर्शन र स्नानका लागि भक्तजन दामोदरकुण्ड पुग्ने गर्छन् । घारादेखि उता कुनै पनि बस्ती नभएकाले त्यस क्षेत्रमा भक्तजन स्वयम्ले खाना र बासको व्यवस्था गर्नुपर्छ । पुरानो गोरेटो बाटाको मर्मतसभ्भार गरी फराकिलो, बीच भागमा चौतारा र बासका लागि धर्मशाला निर्माण गर्नुपर्ने गुरुङको भनाइ छ ।

दामोदरकुण्डमा नेपालीका तुलनामा भारतीय भक्तजन बढी जाने गरेको बताइएको छ । मुक्तिनाथको दर्शन र दामोदरकुण्डमा स्नान गरे पुण्य लाभ हुने जनविश्वास छ । दामोदरकुण्डमा रातो, नीलो र सेतो देखिने विभिन्न प्रकारमा कुण्ड अवस्थित छन् । जिविसका कार्यक्रम अधिकृत केदारसिंह थापाले गोरेटो बाटो निर्माणका लागि बजेटको व्यवस्थापन गरिए पनि काम हुन ढिला भएको बताउनुभयो । “अब सम्झौता भए काम होला”– उहाँले भन्नुभयो ।

प्रतिक्रिया