चितवन, ४ वैशाख । निकुञ्जपारीको बस्तीको रुपमा परिचित चितवनको माडी क्षेत्रमा रहेका स्थानीय खहरे खोलामा बढेको सतहले गर्दा सो क्षेत्र जोखिममा पर्दै गएको छ ।
हालै मात्र नगरपालिका घोषणा भएको माडीका रिउ, रेवा, मौवालगायतका खहरेमा बर्सेनि वालुवा, गिट्टी र माटोले सतह बढाउँदै लगेको छ ।
खोलामा थुप्रिएका नदीजन्य पदार्थ बस्तीको जमिनको सतहभन्दा माथि पुगेकाले माडी उपत्यकालाई नै जोखिम बढाएको माडी नगरपालिकाका कार्यकारी अधिकृत केशव बरालले बताउनुभयो ।
रिउ खोलामा बालुवा, माटो, गिट्टीले झण्डै दुई मिटर सतह बढाएको छ । हरेक वर्षको वर्षायाममा माडीमा सयौँ हेक्टर जमिन कटान हुनुका साथै बस्ती डुवान हुने गरेको बरालको भनाइ छ । हरेक वर्षको बाढीले माडीको जनजीवन कष्टकर बनाउँदै आएको छ ।
रिउ खोलामा हाल निर्माण गरिएको पुलभन्दा पहिले बनाइएको पुल पनि बाढीले बगाएको थियो । पुरानो पुल भत्कनुमा पनि नदीको सतह वृद्धि नै रहेको विज्ञहरूको भनाइ छ ।
बालुवा र गिट्टीले नदी भरिएपछि पुलमाथि खोला बग्यो अन्ततः भत्कन पुगेको हो । हाल रिउ खोलामा नयाँ पुल निर्माण गरिएको छ ।
माडीको जोखिम सम्भावनालाई मध्यनजर गर्दै विपद जोखिम न्यूनीकरणमा कार्यरत नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा छ महिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको अध्यक्ष रविकिरण पौडेलले बताउनुभयो ।
निकुञ्ज संरक्षण ऐन र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका कारण खोला खहरेबाट गिट्टी बालुवा निकाल्न पाइँदैन । राष्ट्रिय निकुञ्जसँग जोडिएको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु भएका कारण नदीमा भरिएका गिट्टी बालुवा निकाल्न नसकिएको चितवनका स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
उक्त क्षेत्रमा हालसम्म निकुञ्जका कारण रातिको समयमा निकुञ्जको बाटोमा यातायात सञ्चालन गर्न पाइँदैन भने हालसम्म पनि विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । सुगम जिल्ला भएर पनि विकट रुपमा बसोबास गर्दै आएका माडीवासी वर्षाद् सुरु भएसँगै दिनरात कसरी काट्ने भन्ने चिन्तामा बस्न बाध्य हुँदै आएका छन् । माडीमा सानाठूला गरी ५० भन्दा बढी खहरे खोला रहेकाले नियन्त्रण कठिनाइ भएको सरोकारवालाको भनाइ छ ।
प्रतिक्रिया