गाईघाटमा पहिलो पटक सार्वजनिक शौचालय निर्माण

इनेप्लिज २०७२ वैशाख १ गते ८:२८ मा प्रकाशित

05-public-toilet-300गाईघाट (उदयपुर), १ वैशाख । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारमा लामो समयपछि पहिलो पटक सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

गाईघाट बजारको त्रियुगा उच्च माविको पछाडिपट्टि डिएमगेट सडकखण्डको छेउमा तीन कट्ठा जग्गामा पहिलो पटक सार्वजनिक शौचालय निर्माण भएको हो ।

सार्वजनिक शौचालय निर्माण गर्नका लागि त्रियुगा उच्च मावि गाईघाटले जग्गा उपलब्ध गराएपछि त्रियुगा नगरपालिका गाईघाटको रु १९ लाखको लगानीमा उक्त शौचालय निर्माण गरेको कुरा त्रियुगा नगरपालिका गाईघाटले बताएको छ ।

गत भदौ महिनाबाट निर्माण कार्य सुरु भएको उक्त शौचालय नौ महिनापछि चैत मसान्तमा निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त सार्वजनिक शौचालयमा महिला र पुरुषलाई छुट्टाछुट्टै शौचालय कोठाको व्यवस्था रहेको छ ।

यस्तै, अपाङ्ग, अशक्तका लागि पनि शौचालय जान ह्विल चियर लान सकिने व्यवस्था गरिएको पनि नगर अधिकृत खड्गबहादुर कार्कीले बताउनुभयो ।

आधुनिक ढङ्गबाट निर्माण गरिएको उक्त सार्वजनिक शौचालयको माथिल्लो तलामा नुहाउन र स्नान गर्न सकिने तथा आराम गर्ने छुट्टाछुट्टै कोठाको समेत व्यवस्था रहेको नगरपालिकाले बताएको छ ।

अहिले केही समय अर्को सम्झौता नभएसम्म उक्त सार्वजनिक शौचालयको रेखदेखको जिम्मा त्रियुगा उच्च माविलाई नै जिम्मा लगाइएको कुरा पनि त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत कार्कीले बताउनुभयो ।

दिसापिसाब गर्न आउनेसँग सामान्य शुल्क लिने र उक्त शुल्कबाट उठेको रकममध्ये ६० प्रतिशत त्रियुगा उच्च माविलाई र ४० प्रतिशत नगरपालिकाले आम्दानी लिने तत्कालका लागि व्यवस्था गरिएको छ ।

लामो समयदेखि जिल्लाको सदरमुकाम गाईघाट बजारमा सार्वजनिक शौचालयको अभाव भएका कारण बजारक्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणले भोग्नु परेको समस्यालाई ध्यानमा राखेर नगरपालिकाको पहलमा सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको कुरा नगरपालिकाका कार्यकारी अधिकृत कार्कीले बताउनुभएको छ ।

प्रतिक्रिया