नर्वेली विदेश राज्यमन्त्री राजधानीमा

इनेप्लिज २०७२ वैशाख १ गते ८:०५ मा प्रकाशित

काठमाडौँ, १ वैशाख । नेपालको राजनीतिक नेतृत्वसँग परामर्श गर्न नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्ड नेपालको दुईदिने औपचारिक भ्रमणमा आज राजधानी आइपुग्नुभयो ।

नर्वे र नेपालबीचको सम्बन्ध तथा द्विपक्षीय विकास सहयोगबारे उच्च सरकारी अधिकारीहरूसँग छलफल गर्न राज्यमन्त्री हगलन्ड नेपाल भ्रमणमा आउनुभएको यहाँस्थित नर्वेली राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, ऊर्जामन्त्री राधादेवी ज्ञवाली र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसी (खड्का)सँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राज्यमन्त्री हगलन्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि नर्वेका राजदूत चेल टोरमोड पिटर्सेन तथा उक्त दूतावासका उच्च अधिकारीका साथै परराष्ट्र र अर्थ मन्त्रालयका अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।

नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता नर्वेले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ ।

नेपालको प्राथमिकताअनुसार आधारभूत प्राथमिक शिक्षा, जलविद्युत्, ऊर्जा, मानवअधिकार, विकेन्द्रीकरण, शान्ति स्थापना, सुशासन, निजी क्षेत्रको विकासमा केन्द्रित रहेर नर्वेले सहयोग गर्दै आएको छ । नर्वेली सहयोग ग्रामीण विद्युतीकरणमा पनि उल्लेख्यरुपमा उपयोग भएको छ ।

नर्वेली अन्तर्राष्ट्रिय सहयोग नियोग (नोराड) मार्फत पनि नर्वेले नेपालको विकास प्रयासमा सघाउँदै आएको छ । नोराडले दक्ष जनशक्ति उत्पादनका निम्ति विभिन्न समयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । शान्ति कोषमा नर्वेले तीन करोडभन्दा बढी नर्वेजियन क्रोनर उपलब्ध गराएको छ ।

प्रतिक्रिया