काठमाडौँ, ३० चैत । चालु आर्थिक वर्षको आठ महिनामा महँगी केही घटेको र सरकारी बजेट बचतमा रहेको छ । त्यसैगरी नगद प्रवाहमा आधारित सरकारी बजेट रु. ५० अर्ब ३८ करोडले बचतमा रहेको छ ।
चालु आवको आठ महिनाको तथ्याङ्कमा आधारित भएर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५ तथा उपभोक्ता मुद्रास्फीति ७ प्रतिशत रह्यो । अघिल्लो वर्ष सोही अवधिमा बिन्दुगत थोक मुद्रास्फीति ८.३ र उपभोक्ता मुद्रास्फीति ८.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुको मूल्य सूचकाङ्क ८.४ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकाङ्क ६.० प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको छ ।
सरकारको राजस्व परिचालन १३.५ प्रतिशतले वृद्धि भई रु. २४१ अर्ब २६ करोड पुगेको तथा सरकारलाई वैदेशिक नगद ऋणवापत रु. ६ अर्ब २९ करोड र वैदेशिक नगद अनुदानवापत् रु. १५ अर्ब ७१ करोड प्राप्त भएको केन्द्रीय बैंकले जनाएको छ ।
बितेका आठ महिनामा समग्र शोधनान्तर स्थिति रु. ३५ अर्ब ७ करोडले बचतमा रहेको तथा चालु खाता रु. ११ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खाता रु. ६८ अर्ब ४१ करोडले बचतमा रहेको थियो । वस्तु तथा सेवा आयात बढ्नु, निर्यात तथा अनुदान घट्नु र विप्रेषण आप्रवाह न्यून दरले बढ्नाले समीक्षा अवधिमा चालू खाता न्यून बचतमा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा शोधनान्तर बचत ३५ करोड १० लाख डलर रहेको छ भने चालू खाता बचत ११ करोड ३८ लाख डलर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत १ अर्ब ३ करोड डलर र चालू खाता बचत ६८ करोड ७७ लाख डलर थियो ।
आर्थिक वर्ष २०७१÷७२ को आठ महिनासम्ममा कुल वस्तु निर्यात ६.६ प्रतिशतले घट्न गई रु. ५६ अर्ब ८७ करोडमा सीमित भएको तथा मासिक रुपमा चालू आर्थिक वर्षको फागुन महिनामा कुल वस्तु निर्यात माघ महिनाको तुलनामा १.७ प्रतिशतले घटेको छ । कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको आठ महिनासम्ममा २१.९ प्रतिशतले बढेकामा समीक्षा अवधिमा ९.९ प्रतिशतले घटेको छ ।
अलैंची, जिङ्कसीट, लत्ताकपडा, जुटका सामानलगायत वस्तुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो । चीनतर्फको निर्यात भने अघिल्लो वर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा ९.३ प्रतिशतले बढेको छ । प्रशोधित छाला, तयारी पोशाक, चाउचाउलगायत वस्तुहरूको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात बढेको हो ।
यसैगरी फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०७१ असार मसान्तको रु. ६६५ अर्ब ४१ करोडको तुलनामा ६.१ प्रतिशतले वृद्धि भई रु. ७०५ अर्ब ७३ करोड पुगेको छ । २०७० फागुन मसान्तमा यस्तो सञ्चिति २०७० असार मसान्तको तुलनामा २२.५ प्रतिशतले बढेर रु. ६५३ अर्ब ४२ करोड रहेको थियो । कुल सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७१ असार मसान्तको रु. ५७२ अर्ब ४० करोडको तुलनामा २०७१ फागुन मसान्तमा ३.६ प्रतिशतले वृद्धि भई रु. ५९३ अर्ब ५ करोड पुगेको छ । अमेरिकी डलरमा भने बैकिङ्ग क्षेत्रको कुल सञ्चिति २०७१ असारदेखि २०७१ फागुन मसान्तसम्ममा १.३ प्रतिशतले बढी अमेरिकी डलर ७ अर्ब ३ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७१÷७२ को आठ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले ११.३ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहन केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया