न्यूयोर्कका आधा दर्जन जनजाति संस्थाहरुको समर्थन केशव पौडेललाई

इनेप्लिज २०७१ चैत २९ गते २१:४९ मा प्रकाशित

pic 3

न्यूयोर्क, २९ चैत । गैरआवासीय नेपाली संघ अमेरिकाको आगामी नेतृत्वका लागि विनाप्रतिस्पर्धीझैं देखिएका अध्यक्षका प्रत्यासी डा. केशव पौडेललाई न्यूयोर्कका आधा दर्जन जनजाति संस्थाका अध्यक्षहरुले समर्थन गरेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एकछत्र देखिएका अध्यक्षका प्रत्यासी डा. पौडेल न्यूयोर्क क्विन्सस्थित ओमशक्ति मन्दिरमा आयोजित भेटघाट कार्यक्रममा जनजाति नेताहरुले खुलेर समर्थन गरेका हुन् ।

स्थानीय समाजसेवी तथा महिलाकर्मी जनेश गुरुङको सभापतित्वमा सम्पन्न भेटघाट कार्यक्रममा न्यूयोर्कस्थित स्थानीय समाजसेवी, पत्रकार, संघसंस्थाका प्रतिनिधिलगायत न्यूयोर्कबासी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत निर्वाचनको पूर्वसन्ध्यामा न्यूयोर्क आइपुगेका डा. पौडेललाई जनजाति नेताहरुले पालैपालो एनआरएन अमेरिकाका निर्विकल्प अध्यक्ष भन्दै समर्थन गरेका हुन् ।

झण्डै तीन सय नेपाली समर्थकहरुबीच किराँत याक्थुङ चुम्लुङका अध्यक्ष देवेन्द्र लिम्बुले डा. केशव पौडेल एनआरएन अमेरिकाको अध्यक्ष निर्विकल्प उम्मेदवार भएको हुँदा आफ्नो पूर्ण समर्थन रहेको बताए । किराँत राई सोसाइटी अफ अमेरिकाका अध्यक्ष खगेन्द्र राईले पनि यस पटकको निर्वाचनमा डा. केशव पौडेललाई समर्थन गर्नैपर्ने बताए । त्यसैगरी तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष सूर्य तामाङले पनि एनआरएन अमेरिकाका लागि डा. केशव पौडेल सबै हिसाबले सक्षम भएको हुँदा उनलाई नै समर्थन गर्नुपर्ने बताए ।

कार्यक्रममा अध्यक्षका प्रत्यासी डा. पौडेलले आफू सधैंभरि प्रवासमा नेपालीहरुको हितका लागिपर्ने बताउँदै आफ्नो चिकित्सा क्षेत्रको अनुभवलाई समेत प्रयोग गर्दै प्रवासी नेपालीहरुको हित र नेपालसँगको सम्बन्धमा दिगोपन ल्याउन लागिपर्ने बताए ।

त्यति मात्र होइन युनाइटेड शेर्पा एसोसिएसनका अध्यक्ष दावा जाङ्बु शेर्पाले पनि डा. पौडेललाई नै यस पटक एनआरएन अमेरिकाको अध्यक्ष बनाउनुपर्ने भन्दै ऐक्यबद्धता जाहेर गरे । स्थानीय सामाजिक कार्यकर्ता अमर तामाङले सञ्चालन गरेको कार्यक्रममा अमेरिकास्थित कलाकारहरुको साझा संस्था नेपाली अमेरिकन आर्टिष्ट एसोसिएसनका अध्यक्ष गम्बु शेर्पाले पनि डा. केशव पौडेललाई जिताउनै पर्ने भन्दै आफ्नो समर्थन रहेको बताए । कार्यक्रममा तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामाले पनि डा. पौडेल एनआरएन अमेरिकाका अध्यक्षका लागि सुहाउँदो उम्मेदवार भन्दै शुभकामना व्यक्त गरे ।

नजिकिएको अप्रिल महिनाको १६ देखि २० सम्म तय गरिएको एनआरएन अमेरिकाको निर्वाचनका लागि देश दौडाहामा हिंडेका न्यू मेक्सिकोस्थित एक अस्पतालका चिकित्सक डा. पौडेललाई यसअगाडि अप्रिल १० तारिख अमेरिकास्थित पत्रकारहरुको संस्था नेजाद्वारा लस एन्जलसमा आयोजित कार्यक्रममा पनि जनसम्पर्क सम्बद्ध प्रभावशाली नेताहरुले खुलेर समर्थन गरेका थिए । डा. पौडेललाई शुक्रबार साँझ लस एन्जलसमा जनसम्पर्क समितिका प्रभावशाली मुकुन्द ढुंगाना, टीका चौधरी, हेमराज भट्टले खुलेर समर्थन गरे ।

एनआरएन अमेरिकाको भावी नेतृत्वका लागि देखिएका ६ जना उम्मेदवारमध्ये प्रभावशाली मानिएका डा. केशव पौडेल अमेरिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलद्वारा गरिएका मत सर्वेक्षणमा समेत अग्रस्थानमा छन् । अमेरिकास्थित हिमाली पोष्ट डटकम, बीआरटी नेपाल डटकम, विश्व न्यूज डटकम, एभरेष्ट टाइम्स न्यूज डटकमलगायतका अनलाइन न्यूज पोर्टलहरुद्वारा गरिएका मत सर्वेक्षणमा झण्डै ५० प्रतिशत मत पाएर डा. पौडेल अग्रस्थानमा देखिएका छन् ।

pic 6

प्रतिक्रिया