कार्यालयभित्रै मृत भेटिए गाविस सचिव राई

इनेप्लिज २०७१ चैत २९ गते ११:३० मा प्रकाशित

लहान, २९ चैत । सप्तरीको बसबिट्टी गाविसका सचिव नवीनकुमार राई आज कार्यालयभित्रै मृत फेला परेको छ ।

बिहान कार्यालय पुगेका गाविस कार्यालयका प्राविधिक सहायकले सचिव राईलाई कार्यालयभित्रै मृत अवस्था देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

राति कार्यालयमै सुतेका २९ वर्षीय सचिव राईको कुन कारणले मृत्यु भएको भन्नेबारे केही खुल्न नसके पनि अत्यधिक मादकपदार्थ सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।

कार्यालयभित्र बान्ता गरेको र शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको बताइएको छ ।

खोटाङको विजयखर्क गाविस–८ निवासी सचिव राई विगत एक डेढ वर्षदेखि सो कार्यालयमा कार्यरत रहेको जिल्ला विकास समिति सप्तरीले जनाएको छ ।

मृतक सचिवको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया