बुटवल, २७ चैत । बुटवल औद्योगिक क्षेत्रमा अनियमित र लामो लोडसेडिङ भएको भन्दै उद्योगीले लोडसेडिङ घटाउन माग गरेका छन् ।
आवासीय क्षेत्रमा भन्दा बढी लोडसेडिङ भएको भन्दै उद्योगीले औद्योगिक क्षेत्रमा भइरहेको अनियमित लोडसेडिङले उत्पादनमा कम भएको पनि गुनासो गरेका छन् ।
सम्बन्धित निकाय र कार्यालयमा पटकपटक आग्रह गर्दा पनि उद्योगीहरुका मागमा सुनुवाइ नभएको भन्दै उनीहरुले अब पनि मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घको आयोजनामा बिहीबार औद्योगिक क्षेत्रमा भएको पत्रकार सम्मेलनमा सहभागी उद्योगीहरुले औद्योगिक क्षेत्रको लोडसेडिङ १२ घण्टाबाट घटाएर आठघण्टा कायम गर्न र नभए सातामा तीन दिन पूरै काटेर चार दिन बिजुली उपलब्ध गराउन पनि प्रस्ताव गरेका छन् ।
औद्योगिक क्षेत्रमा साँझ ६ बजेदेखि रातभर विद्युत कटौती हुँदा असुरक्षा र चोरीका घटनासमेत बढेको गुनासो गर्दै औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष रामप्रसाद बस्यालले बत्ती बाल्नकै लागि भएपनि विद्युत् आपूर्तिको व्यवस्था गर्न माग गरिएपनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ हँुदा उद्योग सञ्चालनमा कठिनाइ उत्पन्न भएको अध्यक्ष बस्यालले बताउनुभयो ।
औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष तिलप्रसाद भट्टराईले औद्योगिक क्षेत्र लोडसेडिङमुक्त बनाउनुपर्नेमा आवासीय क्षेत्रमा भन्दा बढी लोडसेडिङ हुनु विडम्बना हो भन्नुभयो ।
नेपाल उद्योग परिसङ्घका केन्द्रीय सदस्य एजाज आलमले औद्योगिक क्षेत्रमा अनियमित लोडसेडिङ हँुदा उत्पादन ठप्प भएको बताउनुभयो ।
प्रतिक्रिया