अर्घाखाँची, २६ चैत । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको अर्घाखाँचीको डमरु ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
सुख्खायाममा समेत पानीको बहाव नघट्ने ठाडा गाविसमा रहेको डमरु तालको प्रचारप्रसारमा सम्बन्धित पक्षले चासो नदिँदा यसको महत्व उजागर हुन सकेको छैन ।
उन्नचालीस रोपनी जग्गामा फैलिएको ताल छ फिटको गहिराइमा छ । डमरु ताल समुन्द्री सहतबाट एक हजार ३४० मिटर उचाइमा अवस्थित छ । यस वरिपरिको क्षेत्र रमणीय छ ।
ताल संरक्षण समितिका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले तालको संरक्षणमा आफूहरु निरन्तर लागेको तर पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको बताउनुभयो । “यो क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न तालले सघाउ पु¥याउने निश्चित छ” उहाँले भन्नुभयो, “सरोकारवाला निकायले यसका बारेमा चासो देखाउनुपर्छ ।” उहाँले गत वर्ष पर्यटन मन्त्रालयअन्तर्गतको ताल तलैया संरक्षण केन्द्रबाट रु छ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
मन्त्रालयबाट विनियोजित रकमबाट संरक्षण समितिले दहको नजिकै सभाहल निर्माण गरिएको छ । तालमा डुङ्गा सञ्चालन गरेमा त्यसबाट उठेको रकमले यसको संरक्षण तथा प्रचारप्रसारमा टेवा पुग्ने स्थानीय होमनाथ भुसालले बताउनुभयो । “यहाँ आउने धेरै व्यक्तिले डुङ्गा चढ्ने इच्छा व्यक्त गर्छन्” उहाँले भन्नुभयो, “डुङ्गा किन्नका लागि आर्थिक अभाव भएको छ ।” मन्त्रालयबाट विनियोजित रकम दह संरक्षणमा लगाउनुको साटो सभाहल निर्माणमा खर्च गर्नु समितिको कमजोरी देखिन्छ । दहकै सौन्दर्यताका लागि हल निर्माण गरिएको स्थानीयको भनाइ छ ।
यो तालको धार्मिक महत्व पनि उत्तिकै रहेको स्थानीय बताउँछन् । तालका बारेमा ब्रह्मपुराणमा समेत उल्लेख भएको स्थानीय सुमन्तप्रसाद पौडेलले बताउनुभयो । “धुलेश्वर पहाडको उत्तरपट्टि ब्रह्मकुण्ड नाम गरेको तलाउ छ, जस्को दक्षिण भागमा ठूलापधेँरा भन्ने धारा छ” उहाँ भन्नुहुन्छ “जुन गङ्गा ठाडा, सीतापुर, सिमलपानीहुँदै कपिलवस्तुको लक्ष्मणघाट, रामघाट भएर भारत प्रवेश गर्छ ।” बराह पुराणका अनुसार भगवान् बराह यहाँस्थित हुनुहुन्थ्यो । “त्रेता युगमा सीताजीको खोज गर्नेक्रममा भगवान् रामचन्द्र यहाँ आइ तलाउमा सेतो कमल फूल भगवान् बराहलाई चढाइ उत्तर खण्डमा लाग्दा सुपा देउरालीमा बाबा सिद्धको मन्त्र प्राप्त गरेर रामायणको युद्धमा कुम्भकर्णमाथि विजयी हासिल गरेको इतिहासमा उल्लेख छ” उहाँले भन्नुभयो ।
ठाडाबाट सुपा देउरालीसम्मको दूरी करिब ११ किलोमिटर छ । सुपाबाट करिब तीन किलोमिटर पर गएपछि नरपानी डाँडा आउँछ । नरपानी चिसो हावा र पानीले प्रसिद्ध छ । यहाँ गर्मीयाममा तराई तथा पहाडका विभिन्न ठाउँबाट गर्मी छल्न पर्यटक आउने गर्छन् । ठाडा, सुपा र नरपानी तीनवटै क्षेत्र सन्धिखर्क गोरुसिङ्गे सडकसँग जोडिएका छन् । सडकसँग जोडिएकाले यी ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।
प्रतिक्रिया