गाउँलेले तीस लाख खर्च गरेर पदमार्ग बनाए

इनेप्लिज २०७१ चैत २६ गते २:०५ मा प्रकाशित

बेनी (म्याग्दी), २६ चैत । समुदायले आँट्यो भने गाउँको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नुपर्दो रहेनछ भन्ने उदाहरण म्याग्दीको शिख गाविसमा पर्ने पाउद्वार गाउँका बासिन्दा बनेका छन् ।

यहाँका बासिन्दाले स्थानीयस्तरबाट नै रु ३० लाख लगानी गरेर पदमार्ग निर्माण गरी उदाहरणीय बनेका हुन् । गाउँदेखि पर्यटकीय तथा धार्मिक क्षेत्र खोप्रा लेक जाने विभिन्न स्थानमा गरी तीन किलोमिटर पदमार्ग निर्माण गरेको पाउद्वार माविका शिक्षक भीमबहादुर पुनले जानकारी दिनुभयो । गाउँका ३० घरधुरीले आफ्ना दिवङ्गत आफन्तको स्मृतिमा दिएको रु ३० लाख चन्दाबाट पदमार्ग निर्माण भएको हो ।

दाताले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्गको विभिन्न स्थानमा विश्रामस्थलसमेत बनाएका छन् । शिख गाविस–५, ६, ७, ८ र ९ नम्बर वडामा पर्ने पाउद्वारमा तीन वर्षअघि कसैको निधन भएमा ऐच्छिकरुपमा पदमार्ग निर्माणमा सहयोग गर्ने निर्णय गरिएको थियो ।

मृतकको स्मृतिमा पदमार्ग बनाउन थालिएपछि खोप्रा जाने पर्यटकलाई सहज हुनुका साथै दातालाई पुण्य मिलेको खोप्रा सामुदायिक लज व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर मगरले बताउनुभयो । संस्कारगत क्रियाकलापमा हुने अनावश्यक खर्च कटाएर पदमार्गलाई सहयोग गरिएको दाताहरुले बताएका छन् ।

पदमार्ग निर्माणपछि पर्यटकीय तथा धार्मिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिने खोप्रालेकमा पुग्न निकै सुविधा भएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया