बाबियाचौर (म्याग्दी), २५ चैत । भौगोलिकरुपमा विकट म्याग्दीको मुदी गाविसको विभिन्न वडाका बासिन्दा घन्टौं हिँडेर स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् ।
मुदीको बगर, नाउरा, चेचुङ, खिवाङ, खाम्ला, सिम्कोस र बाँस्बोटका गाविसका बासिन्दा सामान्य बिरामी पर्दासमेत तीनदेखि पाँच घन्टा पैदल हिँडेर गाविसमा रहेको स्वास्थ्य संस्थामा पुग्न बाध्य भएका हुन् ।
स्वास्थ्य संस्था बस्तीदेखि टाढा हुँदा बिरामी हुँदा स्वास्थ्य परीक्षण, औषधि उपचार र परामर्शका लागि पूरै दिन लाग्ने भएकाले सर्वसाधारणलाई सहजरुपमा स्वास्थ्य सुविधा उपभोग गर्न समस्या भएको मुदी– ९ बगरका चित्रबहादुर तिलिजाले बताउनुभयो ।
मुदी गाउँका एउटा वडादेखि अर्को वडामा जान आउन दुई दिनसम्म हिँड्नुपर्ने अवस्था रहेको छ । ती बस्तीका २०० भन्दा बढी घरधुरी स्वास्थ्यसँगै उच्च शिक्षा हासिल गर्न, गाविस कार्यालयबाट प्रवाह हुने सेवा सुविधा, विकासका पूर्वाधार तथा चेतनाको हिसाबले पछाडि परेका छन् ।
घुम्ती शिविर सञ्चालन र स्वास्थ्य एकाइ स्थापना गरेर सेवा सुविधा उपलब्ध गराउनुपर्ने बगरका बासिन्दा नरप्रसाद पुनको भनाइ छ ।
मुदी गाविसका सचिव नगेन्द्रप्रसाद गौतम भौगोलिकरुपमा विकट सो क्षेत्रलाई दुर्गम क्षेत्र घोषणा गरी विकास निर्माण तथा सेवा सुविधा प्रवाहका लागि विशेष व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ ।
प्रतिक्रिया