क्षमताभन्दा चौबर कैदीबन्दी

इनेप्लिज २०७१ चैत २५ गते २:०७ मा प्रकाशित

jail-650x250चौतारा, २५ चैत । जिल्ला कारागार सिन्धुपाल्चोकमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी भएकाले समस्या उत्पन्न भएको छ ।

कारागारमा ६० जनाको क्षमता रहेकामा महिलासहित २१२ जना कैदीबन्दी रहेकाले सुत्न र बस्न समस्या भएको हो ।

महिला वार्डमा आठ जनाको क्षमतामा १८ जना बन्दी रहेकाले आलोपालो गरी सुत्नुपर्ने अवस्था रहेको छ । दैनिक छुट्ने र थपिने क्रम रहेकाले छुटेर जानेको सङ्ख्या थोरै हुने र थपिनेको सङ्ख्या बढी हुने हुँदा झनै समस्या परेको कारागार शाखाका प्रमुख शाखा अधिकृत ओमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी सो कारागारका कैदीबन्दीले दैनिक आठ हजार लिटर पानी प्रयोग गर्ने हुँदा ढल निकासको व्यवस्था नभएकाले तलतिर बगेर जाँदा स्थानीय र वन उपभोक्ता समितिले विरोध गर्ने गरेका छन् ।

कारागारबाट दैनिक ३०० केजी फोहर निस्कने र विसर्जन गर्ने ठाउँको अभावमा खाली स्थानमा थुपार्दा स्थानीयले गुनासो गर्र्ने गरेका छन् ।

विसर्जनको उपयुक्त व्यवस्थापनका लागि जिल्ला विकास समिति र नगरपालिकालाई आग्रह गर्दा पनि समाधान हुन नसकेको प्रमुख सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया