सामुदायिक स्वास्थ्य बिमा कार्यक्रम सुरु

इनेप्लिज २०७१ चैत २४ गते ३:१५ मा प्रकाशित

उर्लाबारी, २४ चैत । मोरङको उर्लाबारी–६ मङ्गलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रले २०७१/०७२ का लागि सामुदायिक स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।

बिमा समितिले स्वास्थ्य बिमालाई प्रेषणयुक्त, प्रेषणविहीन र सहुलियतपूर्ण प्रेषणविहीन गरी तीन भागमा वर्गीकरण गरेको छ । प्रेषणयुक्त बिमित परिवारका सदस्यले विराटनगरको नोवेल मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । प्रेषणविहीन र सहुलियतपूर्ण प्रेषणविहीन बिमित परिवारका सदस्यले स्वास्थ्य केन्द्र र सर्पदशंका लागि दमक रेडक्रसबाट स्वास्थ्य सेवा लिन पाउने बिमा समितिका सदस्य कमलनारायण मल्लिकले बताउनुभयो ।

प्रेषणयुक्त बिमाका लागि चारजनाको परिवारले रु एक हजार ३०० र छजनाको परिवारले रु दुई हजार बुझाउनुपर्ने हुन्छ । सोभन्दा बढी भए प्रतिसदस्य रु ३०० शुल्क लाग्ने छ । प्रेषणयुक्त बिमित परिवारका एक सदस्यले रु २० हजार तथा छ सदस्य भएको परिवारले रु एक लाख २० हजारबराबरको औषधोपचारको सेवासुविधा पाउने मल्लिकले जानकारी दिनुभयो ।

प्रेषणविहीन बिमाका लागि चारको परिवारले रु ७०० तथा छको परिवारले रु एक हजार बुझाउनुपर्ने र सोभन्दा बढी भए प्रतिसदस्य रु ३०० शुल्क लाग्ने छ । सहुलियतपूर्ण प्रेषणविहीन बिमाका लागि चारको परिवारले रु ४०० र छको परिवारले रु ५०० बुझाउनुपर्ने तथा सोभन्दा बढी भए प्रतिसदस्य रु १०० शुल्क लाग्ने छ ।

प्रेषणविहीन र सहुलियतपूर्ण प्रेषणविहीन बिमित परिवारका परिवारले रु छ हजारबराबरको मात्र औषधोपचारको सेवासुविधा लिन पाउने छ । उर्लाबारी, पथरी–शनिश्चरे, जाँते, टाँडी, वयरवन र केरौन गाविसका बासिन्दाले स्वास्थ्य बिमा गर्न पाउने स्वास्थ्य केन्द्रले जनाएको छ । सो स्वास्थ्य केन्द्रले सरकारको सहयोगमा २०६१÷०६२ देखि सामुदायिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको बिमा समितिका संयोजक मुक्ति न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया