कञ्चनपुरमा तीन लाखभन्दा बढीले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरे

इनेप्लिज २०७१ चैत २४ गते ३:१२ मा प्रकाशित

Hattipaileभीमदत्तनगर, २४ चैत । यो वर्ष कञ्चनपुरमा तीन लाख ९८ हजार ७१९ ले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा नौ प्रतिशतले बढी हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्ष कुल जनसङ्ख्याको ८० प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् । गत फागुन २३ देखि २५ गतेसम्म जिल्लाका सबै नगरपालिका र गाविसमा हात्तीपाइलेविरुद्ध औषधि सेवन गराएको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट अधिकृत हेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्ष चार लाख ९७ हजार १५७ लाई औषधि खुवाउन लक्ष्य रहे पनि त्यसको ८० प्रतिशतले मात्रै सेवन गरेका छन् । गत आर्थिक वर्षमा कञ्चनपुरमा तीन लाख ६५ हजार ५४४ ले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेको कीट अधिकृत जोशीले बताउनुभयो । “तीन दिन जिल्लामा अभियान नै चलाएका थियौँ”–उहाँले भन्नुभयो–“जसका लागि जिल्लाभर दुई हजार १०० स्वास्थ्यकर्मी र स्वयम्सेविका परिचालन गरेका थियौँ ।”

उहाँका अनुसार साविक १९ गाविसमा तीन लाख नौ हजार ७३१ र भीमदत्त नगरपालिका क्षेत्रमा एक लाख २० हजार ८२२ ले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् । हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराउन तथा व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई रु ५५ लाख तीन हजार बजेट विनियोजन गरिएको थियो ।

प्रतिक्रिया