कमलराज भट्ट
काठमाडौं, २१ चैत । चार बर्षमा घर फर्किएका छोरा पारसलाई पूर्वराजा ज्ञानेन्द्र शाहले किन स्वीकारेनन् ? अझ सासु-ससुराकै दबाबमै पत्नी हिमानी शाहले समेत पारसलाई नभेटेपछि विभिन्न शंकाहरु उत्पन्न भएका छन् ।
विश्वस्त सुत्रका अनुसार, पारस नेपाल फर्किए पनि पूर्वराजा ज्ञानेन्द्र खुसी छैनन् । पारसले करोडौँ रुपैँया उडाएको र आफ्नो बेइज्जती गरेको भन्दै ज्ञानेन्द्र आक्रोशित छन् । उनले पारसलाई केही शर्त राखेको र शर्त स्वीकारेमात्र महाराजगन्जमा रहेको आफ्नो निजी घर ‘निर्मल निवास’मा छिर्न दिने सन्देश पठाएको बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले कनिका नामकी थाइ प्रेमिकालाई छाड्न र अब आइन्दा विगतका जस्ता गतिविधि नगर्ने प्रतिबद्धता जनाउन पारसलाई सन्देश पठाएका हुन् । त्यो प्रतिबद्धता पूरा गरे पारसलाई घरमा प्रवेश दिने ज्ञानेन्द्रको शर्त छ । शर्त माने ज्ञानेन्द्र लागुऔषध र गलत संगतबाट छुटाउन पारसलाई पुनर्स्थापना केन्द्रमा राख्न चाहन्छन् ।
यसैगरी, पारससँगै नेपाल फर्किएका सुनिल खड्कासँगको संगत छाड्न पनि ज्ञानेन्द्रले शर्त राखेका छन् । सुनिलले पारसलाई थाइल्याण्डमा नराम्रो काममा उत्प्रेरित गरी बदनाम गराएको र चर्चा कमाउनका लागि नेपाली मिडियालाई गलत सूचनाहरु दिएको भन्दै पूर्वराजा आक्रोशित छन् ।
पूर्वराजपरिवारले दुई वर्षअघि नै पारसलाई नेपाल फर्काउन चाहेको थियो । तर करोडौं पैसा सिध्याएर उनी थाइल्याण्ड नै बसेका थिए । गाँजा लगायतका नशालु पदार्थ सेवन गरेको र जथाभाबी पैसा उडाएपछि पछिल्लो समय परिवार र आफन्तले पैसा पठाउन छाडेका थिए । त्यसपछि पारस बाध्य भएर नेपाल फर्किएका हुन् । पछिल्लो समय थाइल्याण्डको अदालतलाई धरौटी बुझाउन पनि उनलाई निकै कठिन भएको थियो । पारस आउँदा पूर्वराजदरबारमा खासै उत्साह देखिएको छैन । छोरा पारसकै कारण राजतन्त्र फर्किने सम्भावना टर्दै गएको र राजनीतिक अस्थिरता भएपनि पारसका गतिविधिका कारण राजतन्त्रप्रति हुनु पर्ने आस्था बढ्न नसकेको भन्दै ज्ञानेन्द्र असन्तुष्ट बनेको निर्मल निवास स्रोतले दैनिक नेपाललाई जनायो ।
यसो त पारस विमानस्थलबाट निस्किएर निर्मल निवास जान चाहन्थे । तर, पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवास छिर्न नदिएपछि महाराजगञ्जको कुण्डदिनी क्लबमा बसेका हुन् । जहाँ अपार्टमेन्ट जस्तै सुविधा छ । त्यहाँ रहँदा पनि गलत छविका व्यक्तिहरुका पारस घेरिएका छन् ।
ज्ञानेन्द्रले अस्वीकार गरेपनि पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी भने पारसलाई घरमै ल्याउने पक्षमा छन् । पारसलाई स्वागत गर्न विमानस्थल नगएकी हिमानी निर्मल निवासमा पतिलाई स्वागत गर्ने तयारीमा थिइन् तर ज्ञानेन्द्रकै कारण उनको चाहना पूरा हुन सकेन । पारसलाई घरमा आउन नदिएपछि हिमानीले बाबुलाई भेट्न शुक्रबार कुण्डलिनी क्लबमा छोराछोरीलाई पठाएकी थिइन् ।
परिवारको कलह ढाक्न पारसका सहयोगीहरुले भने बिहिबारको साइत राम्रो नभएकाले उनलाई केही दिनपछि निर्मल निवास भित्राउने तयारी भइरहेको दाबी समेत गरेका छन् ।
स्रोत:दैनीक नेपाल
प्रतिक्रिया