गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, युएसए वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार

इनेप्लिज २०७१ चैत २२ गते ३:५८ मा प्रकाशित

Untitledगैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, युएसए
वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार
शिव विष्टको
सोच, कोण र प्रतिवद्धता
आदरणीय सचेत मतदाताहरु,
आगामी अप्रिल १६ देखि २० सम्म सम्पन्न हुन लागेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति,  युएसएको निर्वाचनमा यहाँहरु सबैलाई हाम्रा हैन, राम्रा उम्मेद्वार चयन गर्न सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु ।
जनताका लागि, जनताको र जनताद्वारा नै प्रजातन्त्र भन्ने सुन्दर परिभाषा दिइएको मुलुकमा हामी पनि नेपालीका लागि नेपालीको र नेपालीद्वारा नै भन्ने सोचका साथ सुरु भएको गैरआवासीय नेपालीको विश्वव्यापि अभियानमा संलग्न रहदै आएकाछौं । यो भूगोलको देशभन्दा पर भावनाको पनि देश हुन्छ र त्यही कोणबाट एकपटकको नेपाली सधैंको नेपाली हुन्छ भन्ने पवित्र सोचमा आधारित छ । ढिलै भए पनि
अमेरिकी डायस्पोरामा रहेका हामी नेपालीहरु यो अभियानमा जुर्मुराएर उठेका छौं र विश्वको एक मात्र महाशक्ति राष्ट्रको भूगोल नापिरहनुको नाता हामी यो अभियानलाई प्रष्ट सोच र कोणका साथ अगाडि बढाउन सक्षम छौं भन्ने सन्देश दिन चाहन्छौं ।
यही क्रममा यसपटकको निर्वाचनमा मैले पनि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेद्वारी दिएको छु । मेरो यो उम्मेद्वारी मालिक हैन, सेवक हुने अभिप्रायले प्रेरित छ । तर, यससँगै एनआरएनको सहभागिता सामान्य खालको कर्मकाण्डी सामाजिक सेवा मात्र हैन, यो त्योभन्दा फरक कर्मभूमी र जन्मभूमीबीचको सेतु बाँध्ने कुरासँग पनि सम्बन्धित छ भन्ने कुराप्रति म सचेत छु ।
विश्वका अन्य मुलुकमा रहेका नेपाली डायस्पोराभन्दा अमेरिकी डायस्पोरा अलि विशिष्ट प्रकारको छ । यो हाम्रो लागि चुनौति र अवसर दुबै हो । त्यसैले हामीले यो धरातलीय यथार्थलाई ध्यानमा राखेर ठूला कुरा गर्नेभन्दा पनि साना काम गर्दै अघि बढ्ने समय हो भन्ने मेरो सोच रहेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको एउटा च्याप्टर हो अमेरिकाको गैरआवासीय नेपाली संघ । हामी त्यहीअन्तर्गत् यहाँको राष्ट्रिय समन्वय समितिको चुनावमा सहभागी हुन गैरहेका छौं । त्यसैले यसमा व्यक्तिगत चुनावी या छुट्टै संस्थाको चुनावमा जस्तो चुनावी एजेण्डा या प्रतिवद्धता प्रस्तुत गर्नु न विधिसम्मत हुन्छ न प्रक्रियासम्मत । त्यसैले मेरो
प्रतिवद्धता भनेको गैरआवासीय नेपाली संघको मूल नारा नेपालीका लागि नेपाली र रणनीतिक नारा एकपटकको नेपाली सधैंको नेपालीलाई साकार बनाउने नै हो । त्यसमा पनि वरिष्ठ उपाध्यक्ष भनेको अध्यक्षलाई सहयोग गर्ने स्याटलाइट पद हो । यो पदको दायित्व टिम भावनालाई उच्च राख्दै गैरआवासीय नेपाली संघको विश्वव्यापि सञ्जालमा अमेरिकामा रहेको राष्ट्रिय समन्वय समितिको प्रभावकारी भूमिका
प्रस्तुत गर्नु र अन्ततः यसलाई त्यसको नेतृत्वदायी भूमिकामा पुर्याउनु नै हो । म यही अभियानमा दृढतापूर्वक उभिनेछु । र, यही नै मेरो प्रतिवद्धता पनि हो ।
मान्छे चेतनशील प्राणी हो, विकेक उसको धर्म हो । यसो हुँदा हरेक मान्छेको सोच हुनु, कोण हुनु, वाद हुनु र विषय हुनु स्वभाविकै हो । अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा श्वास फेरिरहेका हामीले यो सत्यलाई स्वीकार गर्नुपर्छ । तर, हरेक संघसंस्था र ठाउँहरुमा त्यसैलाई मात्र आधार बनाएर हिड्ने हो भने हामी गन्तव्यमा पुग्न सक्दैनौं । गैरआवासीय नेपाली संघ डायस्पोरामा रहेका हरेक
भावनाको नेपालीको छाता संस्था हो । हामीले त्यसको अमेरिकी च्याप्टरलाई त्यही भावनाले सबै खालका फूलहरु फुल्ने रंगीन फूलवारीका रुपमा विकास गर्नुपर्छ । यो क्रममा हामीले भूगोल मिलाउनुपर्छ, विचार मिलाउनुपर्छ, समावेसीता मिलाउनुपर्छ र यी सबै मिलाउँदा मिलाउँदै पनि हाम्रो विवेक वन्दकीमा राख्न मिल्दैन । त्यसका लागि हाम्रा हैन राम्रा हेर्नुपर्छ । यसो गर्दा कोही हाम्रा
पराजित भए पनि राम्रा विजयी हुनेछन् र त्यसले अन्ततः संस्थालाई गतिशील र गरीमामय बनाउन योगदान पुर्याउने छ ।
मित्रहरु ,
जहाँसम्म मेरो व्यक्तिगत प्रश्न छ, विगत एकदशकभन्दा लामो समयदेखि म अमेरिकामा संघर्षरत् छु । पत्रकारिता मेरो पेशा हो र सपना पनि । न्युयोर्क डेटलाइन बनाएर अमेरिकाबाट प्रकाशित पहिलो नेपाली साप्ताहिक पत्रिका नेपाली आवाजबाट मैले अमेरिकामा नेपाली पत्रकारिताको यात्रा सुरु गरेको हुँ । त्यसयता बाँच्नका लागि विभिन्न खाले व्यावसायिक संघर्ष गरिरहे पनि पत्रकारितालाई मैले
आफ्नो कर्म र धर्म ठानेको छु । त्यसैको निरन्तरताका रुपमा हाल म नेपाल अमेरिका पत्रकार संघ (नेजा) को उपाध्यक्षका रुपमा सेवारत छु । राज्यको चौथो अंग मानिने पत्रकारिता क्षेत्रबाट पनि यस संस्थामा प्रतिनिधित्व होस् भन्ने पवित्र सोच राखेर मैले वरिष्ठ उपाध्यक्षको पदमा उम्मेद्वारी दिएको हुँ । मेरो उम्मेद्वारीका पछाडि केही मूल्य र मान्यता छन्, मात्र तीन बुँदामा म ती मूल्य
र मान्यता प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
•       न्युयोर्क हेजेमोनीको विकेन्द्रीकरणमा
नेपालमा राजधानी काठमाडौं केन्द्रित राजनीति रहेजस्तै अमेरिकामा पनि ठूला राज्य, ठूला सहर अझ त्यसमा पनि न्युयोर्कको हेजेमोनी कायमै छ । हामी अमेरिकाममा आएर पनि त्यही हेजेमोनी सहेर बस्ने या साना राज्य, साना सहरमा रहेका नेपालीको भावनालाई पनि जोडेर एनआरएन अमेरिकालाई एउटा सुन्दर फूलबारी बनाउने ? यस प्रश्नको उत्तरका लागि पनि सानो राज्य नर्थ क्यारोलाइनाको सार्थक
उपस्थितिका लागि मैले आफ्नो उम्मेद्वारी दिएको छु । यो न्युयोर्क हेजेमोनीको विरुद्धमा छ र अमेरिकामा मोफसल बनाइएका सबै राज्यका स्वाभिमानी नेपाली दाजुभाइ, दिदीवहिनीहरुको भावनाको पक्षमा छ ।
•       मिडिया डार्लिंगहरुको विपक्षमा
सबै सतहमा देखिने गतिला हुन्छन् भन्ने हुदैन, सतहमुनी रहने मिलका पत्थरहरुले नै ती सतहका बनौटलाई आधार दिने हो । हिजोआज मिडियाको गुड बुकमा परेर उनीहरुले बनाएका स्युडो पर्सानालिटीहरु सोसल मिडियामा भाइरल बनेर बज हानिरहेका छन् । यो अरुले हानिदिएको बज हो । यदि आफ्नै बज चाहिने भने मिडिया डार्लिंगहरुको यो मोहबाट मुक्त हुनुपर्छ । र, त्यस्तो चाहना राख्ने मत नै अमेरिकाको
नेपाली डायस्पोरामा निर्णायक पनि छ । त्यही मतको सम्मानका लागि पनि मैले आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ ।
•       पत्रकारिता क्षेत्रको उपस्थिति
एनआरएन अमेरिका सबै क्षेत्र, वर्ग, भूगोल, तह र तप्काको साझा फुलबारी हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । त्यही क्रममा राज्यको चौथो अंग पत्रकारिताको पनि प्रतिनिधित्व रहँदा सुनमाथि सुगन्ध हुने मेरो विश्वास हो । यसले अमेरिकामा रहेको सञ्चार क्षेत्रसँग हार्दिक सहकार्य गर्ने अवसर मात्र दिदैन, गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समितिसामु अमेरिकाको
राष्ट्रिय समन्वय समितिको सन्तुलित र ओजपूर्ण सहभागिता रहेको संथाका रुपमा पनि प्रस्तुत गर्छ । यसले यो संस्थाको गरीमा र प्रतिष्ठा बढाउने काम गर्छ । उस्तै पेशा र व्यवसाय भएका मानिसहरुको झुण्ड मात्र बनाए यो क्लव जस्तो मात्र हुन्छ, सबै क्षेत्रको विशिष्टता हासिल गर्ने प्रतिनिधिमुलक संस्था हुन सक्दैन  । यस अर्थमा पनि सञ्चार एवं पत्रकारिता क्षेत्रको सार्थक उपस्थितिका
लागि आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ ।
अन्तमा, हामी यतिबेला २०७१ साललाई विदा गर्दै २०७२ साललाई स्वागत गर्ने घडीमा उभिएका छौं । यस पावन अवसरमा म समस्त नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । र, यहाँहरुको अमूल्य मतमार्फत् एनआरएन एनसीसी युएसएको वरिष्ठ उपाध्यक्षका रुपमा सेवा गर्ने अवसर प्राप्त हुने आशा एवं विश्वास पनि व्यक्त गर्न चाहन्छु ।

सहयोग र सद्भावको हार्दिक अपेक्षासहित,

शिव विष्ट
उम्मेद्वार, वरिष्ठ उपाध्यक्ष
फोन   ४४३ ९२७ ६४५६
इमेल   [email protected]

प्रतिक्रिया