जिल्लाका आठ विद्यालय गाभ्ने र २१ को कक्षा घटाउने निर्णय

इनेप्लिज २०७१ चैत १९ गते २:५९ मा प्रकाशित

रत्ननगर (चितवन), १९ चैत । जिल्ला शिक्षा समिति चितवनले जिल्लामा सञ्चालित विद्यालयमध्ये आठ वटा गाभ्ने निर्णय गरेको छ ।

जिल्ला शिक्षा समितिको बुधबार बसेको बैठकले विद्यार्थी कम भएका र भौतिक पूर्वाधार नपुगेका आठ वटा विद्यालय गाभ्ने र २१ विद्यालयको कक्षा घटाउने निर्णय गरेको जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक बाबुराम दुवाडीले बताउनुभयो ।

समितिको निर्णयअनुसार चितवनको नवज्योति राप्राविलाई कृष्णपुर माविमा, पञ्चदीप राप्राविलाई पञ्चकन्य उच्चमाविमा, राप्रावि मैनाहालाई चित्रसारी माविमा र राप्रावि फर्सेनीलाई राप्रावि सलौलीमा गाभ्ने भएको छ ।

यस्तै दुर्गाभवानी राप्राविलाई खैरहनी उच्च माविमा, सरस्वती राप्रावि सुर्तनालाई राप्रावि मझुईमा, निजानन्द राप्राविलाई पञ्चकन्य माविमा र राप्रावि वीरेन्द्रनगर पटिहानीलाई राप्रावि धनौजीमा गाभ्ने निर्णय भएको छ ।

शिक्षा निर्देशिका अनुसार ३५ विद्यार्थीभन्दा कम विद्यार्थी भएका विद्यालयलाई गाभ्ने नीति रहेकाले ती विद्यालय यसमा परेको र गाभिएका विद्यालयमा बालविकास केन्द्र भने यथावत् राख्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो ।

पछि पूर्वाधार पुगेको अवस्थामा र आवश्यक देखिएमा अनुमति दिन सकिने उहाँको भनाइ छ । आगामी वैशाखदेखिनै यो निर्णय लागू हुने उहाँले बताउनुभयो ।

यस्तै कक्षा ५ सम्म पढाउँदै आएको तीन वटा विद्यालयमा एउटा कक्षा घटाएर ४ मा झारेको र अन्य १८ वटा विद्यालयको हकमा भने ५ कक्षाबाट ३ कक्षामा समेत झारेको जिल्ला शिक्षा कार्यालय चितवनले जानकारी दिएको छ ।

राप्रावि कायागाउँ दाहखानी, राप्रावि लामागाउँ कविलास र राप्रावि कमलपुर कविलासको एक कक्षा घटाएको शिक्षा कार्यालयले जनाएको छ ।

यसअघि विद्यालयमा विद्यार्थी कम भएको भने र शिक्षा कार्यालयले १५४ विद्यालयलाई पत्राचार गरेकामा अन्यले भने पूर्वाधार पु¥याएको छ । चितवनमा निजीसहित कुल ५५९ विद्यालय छन् ।

प्रतिक्रिया