चुलेसी जिल्लामै चुलेसी लोप हुने अवस्थामा

इनेप्लिज २०७१ फागुन २४ गते ८:३३ मा प्रकाशित

Chulesi02_krishप्यूठान, २४ फागुन । चुलेसी जिल्लाका रुपमा परिचित प्यूठानमा चुलेसी लोप हुने अवस्थामा रहेको छ ।

कुनै सयम यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ बन्ने गरेको प्यूठानी चुलेसी आजभोलि सङ्कटमा परेको छ । यहाँको ‘प्यूठानी चुलेसी’ को कुनै समयमा देशव्यापी रुपमा माग हुन्थ्यो ।

“अब त रहर गर्दा पनि चुलेसी खोज्न मुस्किल हुने गर्छ” आफ्नो जीवन नै चुलेसी बनाउने पेसामा खर्चनुभएका खलङ्गा–९ बुढाचौरका ५६ वर्षीय गोविन्द विकले भन्नुभयो । जिल्लामा माग बढ्दै गए पनि नयाँ पुस्ताको ध्यान नपुग्दा चुलेसी बनाउने पेसा नै सङ्कटमा पर्न थालेको विकले बताउनुभयो ।

“यो पेसामा लाग्नेको सङ्ख्या कम हुनु, पेसाबाटै आर्थिक समस्या समाधान नहुनु र नयाँ पुस्ताले यो पेसा नअपनाउँदा चुलेसी लोप हुनु अवस्थामा पुगेको हो”, उहाँले भन्नुभयो, “मेहनत र परिश्रम धेरै भए पनि प्रतिफल थोरै हुन्छ ।” फलामबाट निर्मित अन्य वस्तु बनाउनभन्दा चुलेसी बनाउन धेरै समय र परिश्रम लाग्ने गरेको विकले बताउनुभयो ।

जिल्लाका सीमित स्थानमा मात्रै चुलेसी बन्ने गर्छन् । बर्जिवाङ–४ चाल्नेटारका चुलेसी कालिगढ टङ्कबहादुर वादीले भन्नुभयो, “हाम्रो पुस्ता पछि त यो पेसा नै लोप हुने अवस्था छ ।” चुलेसी बनाउनका लागि कुशल कालिगढको आवश्यकता पर्ने भन्दै वादीले नयाँ पुस्ताको रोजाइ चुलेसी बनाउनेभन्दा वैदेशिक रोजगार रहेको उहाँले बताउनुभयो ।

छजनाको परिवार चुलेसी पेसाको कमाइमा धान्न नसकेको भन्दै बुढाचौरका विकले नयाँ पेसामा लाग्न नसक्ने तथा पुरानो पेसा छोड्न नसक्ने अवस्था रहेको बताउनुभयो । “छोराछोरीको पढाइ, खाद्यान्न, लत्ताकपडा सबै धान्नु पर्छ”, विकले भन्नुभयो, “समस्या समाधान गर्न नसक्ने पेसामा कसको आकर्षण हुन्छ र ? ।”

चुलेसी पेसालाई व्यावसायिक र आधुनिकीकरण गराउनसके यसैबाट आम्दानी गर्न सकिने बुढाचौरका केदार सिंह बताउनुहुन्छ । “एक हप्तामा बल्लतल्ल एक÷दुईवटा चुलेसी बन्छ ।” सिंहले भन्नुभयो, “पेसामा सम्बन्धित क्षेत्रले लगानी गर्ने र चुलेसीको बजार विस्तारमा सहयोग गरे हामी पनि यही पेसामा लाग्ने थियौं, पेसा पनि संरक्षण हुने थियो ।”

यहाँ चुलेसी सानाको रु ८०० र ठूलाको रु एक हजारमा बेच्ने गरिन्छ । उद्योग वाणिज्य सङ्घका मध्यपश्चिम क्षेत्रीय सदस्य प्रमोद पोख्रेलले जिल्लामा चुलेसी र प्यूठानी रातो मुला संरक्षणको प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले घरेलु तथा साना उद्योगअन्तर्गत चुलेसी संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । घरेलु तथा साना उद्योगको कार्यालयले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने पोख्रेलले बताउनुभयो ।

जिल्लामा नयाँ पुस्ता यस पेसातर्फ आकर्षित नहुँदा पेसा नै सङ्कटमा पर्न थालेको र जिल्लामा कुशल कालिगढको अभाव हुन थालेको सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया