चितवनमा स्वाइन फ्लु तिव्र फैलियो, संक्रमितको संख्या ६ पुग्यो

इनेप्लिज २०७१ फागुन १८ गते १०:१५ मा प्रकाशित

swine_flue_115702164चितवन, १८ फागुन । चितवनस्थित भरतपुर अस्पतालमा परीक्षण गराइरहेका थप दुईजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ ।

दुई दिनअघि १४ जना बिरामीको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएकामा थप दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज जानकारी दिएको छ ।

योसँगै अहिलेसम्म जिल्लामा उपचार गराएका छ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । केही दिनअघि यहाँ चारजनामा फ्लु लागेको पुष्टि भएको थियो ।

दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण भएको आज मात्रै पुष्टि भएको जानकारी आएको कार्यालयले जनाएको छ । अहिलेसम्म जिल्लाका ६० जनाको नमुना परीक्षणमा छ जनामा स्वाइन फ्लु लागेको पाइएको हो । नेपालभरमा अहिलेसम्म ४३ जनामा स्वाइन फ्लु लागेको सार्वजनिक भएको छ ।

इन्फ्लुएन्जा ए एचवान एनवान अर्थात् स्वाइन फ्लु सङ्क्रमण भएकामा एकजना नवलपरासी र एकजना गोरखाका बिरामी रहेको जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक राम केसीले आज बताउनुभयो । उनीहरु भरतपुर अस्पतालमा उपचाररत थिए ।

आइतबारमात्रै काठमाडौंमा उपचार गराइरहेकी एक महिलाको स्वाइन फ्लुका कारण ज्यान गएको पुष्टि भएको थियो ।

जिल्लामा स्वाइन फ्लुका बिरामी भेटिएपछि स्वाइन फ्लु बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।

चितवन जिल्ला भारतसँग जोडिएकाले र नेपालकै तेस्रो पर्यटकीय क्षेत्र र विदेशीको बढी चहलपहल हुने जिल्ला भएकाले सतर्कतामा जोड दिइएको छ ।

इन्फ्लुएन्जा ए एचवान एनवान नामको रोग नै स्वाइन फ्लु हो । यो सुँगुरमा पाइने रोग भए पनि मानिसमा सरेपछि मानिसबाट मानिसमा सजिलै सर्ने भएकाले पनि सचेत हुनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

रोग आउनुपूर्व नै पूर्व तयारीका कामहरु गरिएको बताउँदै केसीले रोगविरुद्ध दिइने भ्याक्सिन तथा औषधिहरु तयारी अवस्थामा राखिएको छ ।

स्वाइन फ्लु सङ्क्रमणले भारतमा सयौँको ज्यान गइसकेको छ । रुघाखोकी, घाँटी दुख्नु, श्वासप्रश्वासमा समस्या हुनु यसका लक्षण हुन् ।

यसबाट बच्न मास्क लगाउने आवश्यक सावधानी अपनाउने, भीडभाडमा नजाने र रुघा लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा जचाउनुपर्ने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया