वर्षाका कारण हवाई उडान प्रभावित

इनेप्लिज २०७१ चैत १६ गते ११:०१ मा प्रकाशित

flightकाठमाडौँ, १६ चैत । काठमाडौँ उपत्यका आसपासमा ठूलो वर्षा भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो हुस्सु, चट्याङका कारण उडानमा समस्या आएको हो ।

वर्षाका कारण त्रिभुवन विमानस्थलबाट आजका लागि तय गरिएको सोलुखुम्बु, लामीडाँडालगायतका पहाडी क्षेत्रका उडान प्रभावित भएको छ भने अन्तर्राष्ट्रियतर्फका केही उडान प्रभावित भएका छन् । केही उडान ‘डाइभर्ट’ गरिएको छ ।

लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान भर्न काम हुन सकेका छैनन् ।

मेघ गर्जने र पानी पार्ने बादल विमानस्थलमाथि रहेका कारण सबै उडान र अवतरणमा समस्या आएको हो । विमानस्थलमा केहीबेरअघि ड्युक एयर र सिल्क एयरको जहाज अवतरण गरिएको थियो भने विभिन्न ११ वटा अन्तर्राष्ट्रिय उडान भारतको नयाँदिल्ली, लखनउ र कोलकाता डाइभर्ट गरिएको छ ।

विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा ‘भिजिविलिटी’ असाध्यै न्यून रहेको छ । सामान्यतः उडान र अवतरणका लागि तीन हजार मिटर भिजिविलिटी आवश्यक पर्दछ । विमानस्थलस्थित मौसम पूर्वानुमान शाखाले पनि वर्षाका कारण जहाज अवतरण र उडानमा समस्या भएको जानकारी दिएको छ ।

चट्याङसहित पानी परेका कारण समस्या उत्पन्न भएको र आज साँझसम्म विमानस्थल सुचारु हुने जनाइएको छ । टर्कीको इस्तानाबुलबाट आएको टर्किस एयरलाइन्स नयाँदिल्ली,भुटान एयरलाइन्स पारो, एयर अरेबिया कोलकाता, दिल्लीबाट आएको एयर इन्डियाको विमान वाराणसी ‘डाइभर्ट’ भएको छ ।

प्रतिक्रिया